© 2026
काठमाडौं, २३ असोज ।
नेकपा (एमाले) ले यही असोज २५ गते राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल ले तीनकुनेबाट मोटरसाइकल र्याली निकालेर प्रदर्शन गर्ने तयारी गरेको हो ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै उक्त कार्यक्रममार्फत सरकारलाई एमालेको शक्ति देखाउने चेतावनी दिएका छन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनीसमेत दिए । “नेकपा एमाले, केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन् । हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई ‘युथफोर्स’ बनाएर लडेका हामी हौं ।
केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ,” बस्नेतले भने, “२५ गते राष्ट्रिय युवा संघ, नेपालले दिउँसो १ बजे काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली निकालेर युवाको तागत र एमालेको शक्ति देखाउनेछ ।”
युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘हावामा उडिरहेका जेन–जीहरूको उक्साहटमा नफस्न’ सुझाव दिएका छन् । उनले भने,
“भ्रष्टाचारविरुद्ध छानबिन गर्न तयार छौं, हाम्रो पनि छानबिन गर्नुस् । तर सुरु कुलमान घिसिङबाट गर्नुस्, किनभने उनी देशकै नम्बर १ भ्रष्टाचारी हुन् ।”
ऊर्जामन्त्री कुलमान घिसिङमाथि सबैभन्दा ठूलो भ्रष्टाचारको आरोप लगाउँदै, उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठाए ।
त्यस्तै, उनले भदौ २४ गतेको घटनामा काठमाडौं महानगरका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङ संलग्न रहेको दाबी गर्दै पहिला उनीहरूविरुद्ध छानबिन हुनुपर्ने माग गरेका छन् ।