Butwal Today

तातो लहरका कारण करिब एक लाख मानिसको मृत्यु

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २२ असोज ।

अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको अध्ययनअनुसार सन् २०२३ मा विश्वभर तातो लहरका कारण अनुमानित १ लाख ७८ हजार ४८६ जनाको अतिरिक्त मृत्यु भएको थियो, जुन प्रति १० लाख जनसंख्यामा २३ जनाको मृत्यु बराबर हो । तीमध्ये करिब ९७ हजार, अर्थात् आधाभन्दा बढी मृत्यु, मानव–निर्मित जलवायु परिवर्तनका कारण भएको अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा गठित टोलीले ६७ देश र क्षेत्रका २ हजार १३ स्थानबाट सङ्कलित जलवायु तथा मृत्युदरसम्बन्धी तथ्याङ्कहरूको विश्लेषण गरेको थियो । उक्त विश्लेषणले तातो लहरसँग सम्बन्धित करिब ५४ प्रतिशत मृत्युहरू मानव–प्रेरित जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव भएको पुष्टि गरेको हो ।

अध्ययनले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १.४५ डिग्री सेल्सियस बढी तापक्रम पुगेको, इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा चिन्हित गरेको छ । दक्षिणी युरोपमा प्रति १० लाख जनसंख्यामा १२० जनाको तातो लहर मृत्यु दर रेकर्ड गरिएको थियो, जुन विश्वमै सबैभन्दा उच्च हो । त्यसपछि पूर्वी र पश्चिमी युरोप क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

तातो लहरका कारण भएका अधिकांश मृत्युहरू उत्तरी गोलार्धका उपोष्णकटिबन्धीय र समशीतोष्ण क्षेत्रहरूमा केन्द्रित रहेका थिए । त्यहाँको लामो समयसम्मको चरम तापक्रमले हृदयघात, श्वासप्रश्वास समस्या तथा अन्य दीर्घकालीन स्वास्थ्य अवस्थाहरूलाई गम्भीर बनाएको अध्ययनमा उल्लेख गरिएको छ ।

अअध्ययनको निष्कर्षले भनेको छ, ‘बढ्दो ग्लोबल वार्मिङको सन्दर्भमा भविष्यमा मृत्यु दर घटाउन तत्काल प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप र जलवायु शमन रणनीतिहरू आवश्यक छन् ।’