© 2026
काठमाडौँ, २२ असोज ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले सोधपुछ गरेको छ । साइबर अपराधसम्बन्धी मुद्दामा उनलाई बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा बोलाइएको हो ।
ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत शोभा पाठकले दर्ता गरेको जाहेरीबारे बयान लिन बस्नेतलाई उपस्थित हुन भनिएको थियो । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको अवस्थीले जानकारी दिए ।
उक्त जाहेरी यसअघि सरकारी वकिल कार्यालयले ब्युरोकै आग्रहमा तामेलीमा राखेको थियो । तर, पछिल्लो घटनाक्रमपछि अनुसन्धान प्रक्रिया पुनः अघि बढाइएको हो ।
जेन–जी आन्दोलनपछि बस्नेतले सामाजिक सञ्जालमा पीडितलाई लक्षित गरी लेखेका केही टिप्पणी र उनको नाममा सञ्चालित “महेश बस्नेत फ्यान क्लब” मार्फत पोस्ट गरिएका आपत्तिजनक अभिव्यक्तिहरूको विषयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
यसै प्रकरणमा सरकारी वकिल कार्यालयले असोज ५ गते साइबर ब्युरोलाई थप अनुसन्धानका लागि निर्देशन दिएको थियो । सो निर्देशनपछि प्रहरीले बस्नेतको पक्राउ अनुमति मागेपनि, काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण पेश गरी ल्याउन आदेश दिएको थियो ।
यसबीच, बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध दायर रिट उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा रहेको छ ।