© २०२३
बुटवल,२० असोज ।
नेपालका सबिन पौडेलले युरोपको पोर्चुगलमा आयोजित १०४ किलोमिटर दुरिको अल्ट्रा मेडिईरा ट्रेल रेस पुरा गरेर ईतिहास रचेका छन।
उनले १५ घण्टामा १०४ किलोमिटरको ट्रेल रेस सफलतापूर्वक पूरा गर्दै युरोपमै लामो दुरीको ट्रेल पूरा गर्ने पहिलो नेपाली धावक बन्न सफल भएका छन्।
असोज १८ र १९ गते भएको रेसमा उनी सहभागी भएका थिए। स्याङजा जन्मघर भई बुटवल दीपनगर स्थाई घर भएका उनी हाल पोर्चुगलमा छन। पहिले देखि नै साईक्लिङ र दौडमा रुचि राख्ने उनी मेहनतकै कारण सफलता हासिल गरेको ठान्छन। यो दौड ट्रेल रेस निक्कै कठिन मानिन्छ। जसमा धावकहरूले प्राकृतिक भौगोलिक चुनौतीहरू पहाडी भूभाग, घना जंगल, उकालो–ओरालो, ढुंगा–ढिस्को बाटाहरू पार गर्दै निर्धारण गरिएको दुरीमा दौड पूरा गर्नुपर्ने हुन्छ।
यस दौडमा युरोप, अमेरिका, र एसिया लगायतका दर्जनौं देशका धावकहरूले भाग लिएका थिए। “यो मेरो जीवनको सबैभन्दा कठिन दौडमध्ये एक थियो। तर नेपालीको साहस, आत्मविश्वास र धैर्यताले मलाई यो सम्भव बनायो।” दौडपछि सामाजिक सञ्जालमा उनले लेखेका छन।
उनको यो ऐतिहासिक उपलब्धि केवल व्यक्तिगत सफलतामात्र नभई समग्र नेपालीको गौरब बनेको छ। नेपाली युवाहरूलाई पनि अन्तर्राष्ट्रिय खेलकुदमा आफूलाई चिनाउने गरि प्रेरणा उनले दिएका छन।
नेपालबाट विदेशमा रहेर यस्ता चुनौतीहरू सामना गर्ने नेपालीहरूको संख्या बढ्दो क्रममा छ, तर यति कठिन ट्रेल रनमा सहभागी भएर सफलतापूर्वक समाप्त गर्ने नेपाली अहिलेका लागि सबिन नै पहिलो भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्यसचिव जयप्रकाश भटटराईले बताए।
नेपालमा रहदा पनि दौडमा रुचि राख्ने उनी विदेशमा पनि छोटो तयारीमा उपलब्धि हासिल गरेको बताए। नेपाल सरकार, खेलकुद मन्त्रालय तथा सम्बन्धित संघसंस्थाहरूले यस्ता खेलाडीहरूको पहिचान गरी थप हौसला बढाउने गरि लाग्नुपर्ने देखिन्छ।