© २०२३
काठमान्डौ, १४ असोज ।
दशैँमा मानिसहरूको व्यापक यात्रा र जमघटका कारण डेंगी संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । असोजयता लगातार परेको वर्षाले लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण सिर्जना गरेको हुँदा आगामी केही सातासम्म डेंगीको जोखिम अझ तीव्र हुने आशंका चिकित्सकहरूले व्यक्त गरेका छन् ।
गत एक सातामात्रै २९४ नयाँ संक्रमित थपिएका छन् । सन् २०२५ को प्रारम्भ अर्थात् पुसको मध्यदेखि अहिलेसम्म देशभर ५ हजार १९६ जनामा डेंगी पुष्टि भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा कम भए पनि आगामी हप्ताहरूमा सतर्कता आवश्यक रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार यस वर्ष डेंगी ७५ जिल्लामा फैलिएको छ । तर कुनै क्षेत्रमा ‘हटस्पट’को अवस्था भने देखिएको छैन ।
हाल तराईदेखि पहाडी जिल्ला हुँदै डेंगी संक्रमण फैलन थालेको छ । दशैँका बेला धेरै मानिसहरू पहाडी क्षेत्रमा जाने भएकाले त्यहाँ संक्रमण जोखिम बढ्न सक्ने चेतावनी दिँदै डा। दाहालले व्यक्तिगत सावधानी अपनाउन आग्रह गरेका छन् ।