© 2026
‘रेबिज रोकथाम र नियन्त्रणका लागि साझा अभियान’ भन्ने नाराका साथ विश्व रेबिज विरुद्धको दिवस आज मनाईदैछ ।
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जसले जनावरहरूको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँदछ र जनावरले मानिसलाई टोकेमा मानिसको मृत्यु हुन सक्छ ।
तसर्थ रेबिजबाट बच्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ । मेडिकलको भाषामा रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ती जनावरसँगको सम्पर्कमा मानिस आएमा रेबिज लाग्छ ।
रेबिज लागेको अर्थात् रेविड जनावरहरूको ¥यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई चुनौती दिएको छ ।
अहिले आएर आधुनिक चिकित्सा पद्धति अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरू प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेपछि पनि औषधीको मात्रा पूरा गरेर, सुई लगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेबिज प्राणघातक बन्न सक्छ ।
तसर्थ भरसक रेबिजबाट बच्ने र रेबिज लागेको अवस्थामा उपचारमा लापरबाही नगरे जीवन सुरक्षित हुन्छ । रेबिजको बढ्दो चुनौतीबाट बच्न अहिले नेपाल सरकारले हरेक पालिकाबाटै रेबिज नियन्त्रणका लागि पहल गरिरहेको छ ।
रेबिजको जोखिम रहेको कुकुर, बाँदर लगायतका जनावरबाट बच्न सतर्कताका कार्यक्रमदेखि रेबिज नियन्त्रणका कार्यक्रम महत्त्वपूर्ण छन् । सम्पूर्ण कुकुरलाई भ्याक्सिनेसन गर्नेतर्फ ध्यान दिने हो भने रेबिजको जोखिम धेरै कम हुन्छ ।
रेबिज नियन्त्रण अभियान खोप संचालन गर्नेतर्फ ढिलाई गरिनुहुँदैन । कुकुरको सङ्ख्या नियन्त्रण गर्न प्रजननमा पालिकाहरूले जोड दिनु आवश्यक छ । रेबिजले मानव स्वास्थ्यमा ठुलो चुनौती सिर्जना गरेकै कारण वैज्ञानिकहरूले यसबाट बच्न उपायको खोजी गरे ।
आज रेबिजविरुद्धको दिवस मनाउँदै गर्दा रेबिज खोपको आविष्कार गर्ने फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरलाई सम्झिएन भने यो दिवस अधुरो हुन्छ । खोपको आविष्कार गरेर जसले हजारौँ मानिसको ज्यान जोगाए उनै लुइस पास्चरलाई आज सम्झने दिन पनि हो ।
तर विश्वले उनले मृत्युवरण गरेको दिनको रूपमा यो दिवस मनाउँदै आएको छ । अर्थात् सेप्टेम्बर २८ को दिन लुइस पास्चरले मृत्युवरण गरे । उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर लाखौँको ज्यान जोगाउन सफल भए ।
रेबिजबाट बच्न हाम्रो घर वरिपरी रहेका जनावरलाई अनिवार्य खोपको व्यवस्था गर्नु जरुरी छ । तपाईँ–हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमै रेबिज विरुद्धको खोप लगाउनु पनि खोपबाट बच्ने सावधानी र उपाय हो ।
सङ्क्रमित जनावरहरूसँग उनीहरूको सम्पर्क र संसर्ग नहोस् भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक छ । त्यसतर्फको पूर्व सावधानी पनि रेबिजबाट बच्ने उपाय हो । रेबिजको सङ्क्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौँ, तसर्थ यो विषयमा पूर्व सचेतना अत्यावश्यक छ ।
नेपालमा हरेक वर्ष सेप्टेम्बर २२ देखि २८ गतेसम्म रेबिज सप्ताह विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । यो वर्ष पनि अभियान सुरु भएको छ । अभियान सुरु गर्दै गर्दा यो अभियानमा सबै नागरिक जोडिनु अत्यावश्यक छ ।
सबैभन्दा पहिले रेबिज रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा दूर दराजमा बस्ने नेपाली नागरिकलाई यथेष्ट जानकारी दिनु जरुरी छ । पशुबाट मानिसमा सर्ने धेरै रोगहरूमध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो भन्ने कुरा अहिले पनि धेरैलाई थाहा नहुन सक्छ ।
तसर्थ रेबिजविरुद्धको सचेतना कार्यक्रममा सबै जोडिनु जरुरी छ । यो रोगबाट बच्नेतर्फ समयमै ध्यान नदिने हो भने ठुलो जोखिम हुने भएकोले अहिलेदेखि नै सतर्कता आवश्यक छ । रेबिज लागेर लक्षण देखिएपछि यसको कुनै उपचार छैन भन्ने कुरा सबैलाई बुझाउनु जरुरी छ ।
विश्वमा बर्सेनि करिब ३० हजारदेखि ५५ हजार व्यक्तिको यो रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेकोले रेबिजबाट हरेक नागरिक आफै सचेत हुनुपर्ने आवश्यकता छ ।