© २०२३
हामी आम नेपालीहरूको राष्ट्रिय पर्व दसैँको सुरुवात भइसकेको छ । परापूर्व कालदेखि नेपालमा बस्ने हामी सबै आदिवासी मूलवासी, वनवासी सबैले धुमधासँग दशैँ पर्व मनाउँदै आएका छौँ । हिन्दु धर्मावलम्बीहरूको चाड भनेर कसैले हिन्दु शब्दलाई सङ्कुचित पार्न खोज्दछन् ।
तर, हामी यहाँ बसोबास गर्ने वैदिक बौद्ध र किराँत सबै हिन्दु नै हौँ । अझ नेपालमा त परापूर्व कालदेखि बस्दै आउनुभएका मिया मुसलमान दाजु भाइहरूलाई पनि बसाइँका आधारमा हिन्दु नै भन्दा पनि कुनै अत्युक्ति हुँदैन ।
निराकार परमेश्वरलाई मान्दै यहाँ सँगै बसेका हिन्दुहरूले जस्तो उहाँहरूले पनि गाईलाई माताकै रूपमा मान्दै विवाहादी धेरै चालचलन पनि हामीहरूले जस्तै नै गर्नुहुन्छ भने आमा भनेकी सबै धर्मावलम्बीहरूका लागि पूज्या नै भएकीले आमाको पूजा हुने दशैँपनि उहाँहरूले पनि मान्दै आउनुभएको छ ।
अझ नेपाल आमाका सपुत इतिहासविद् योगी नरहरिनाथले – हिमालै हो हाम्रो उदयहिमधु हिन्दूहरूको भन्नु भएकाले हिमालका आश्रयमा बसी गाई, माई र पृथ्वीलाई आमा मान्ने हामी सबै हिन्दु नै हौँ ।
त्यसैले अब पनि हामीले उनै विदेशीहरूका उपन्यासहरूलाई नै सच्चा इतिहास मानेर दिग्भ्रमित हुनपर्ने अवस्था नै रहेको छैन । आश्विन पक्षको शुक्ल दशमी तिथिका आधारमा मनाइने यो राष्ट्रिय पर्व प्रत्येक नेपालीका हृदयमा रहेकाले यो पर्व आयो भन्दा साथ हामी मात्र नभएर धर्ती माताले पनि आफु खुशी भएको अवस्था देखाइरहेकी हुन्छिन् ।
वर्षा ऋतुको अन्त्यका साथ शरद ऋतुको आगमनले गर्दा चराचर जगत् नै हर्षविभोर भएको देखिन्छ । दशैँमा हामीले दुर्गादेवीको आराधना गर्ने गर्दछौँ । शक्ति स्वरूपिणी माता नभई ब्रह्मा, विष्णु र शिवको पनि केही चल्नेवाला छैन भनी पुराणमा उल्लेख छ ।
हुनपनि हामीले पनि हाम्रो व्यवहार पक्षको अवलोकन ग¥र्यौँ भने पनि विना शक्ति कसैको केही चल्नेवाला छैन । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी यी दुर्गा देवीका नौँवटा रूपको आराधना गरी दशैँ पर्व मनाउने चलन छ ।
हामी नेपालीहरू विशेषगरेर शिवशक्तिका उपासक भएकाले पनि यहाँ गोरखकालीको उपासना गर्ने गरिन्छ । गोरखकालीको उपासनापछि नै पृथ्वीनारायण शाहले नेपाल विजय गरेका थिए भन्ने कुरा इतिहासमा लेखिएको पनि छ ।
आमाको आराधना गर्ने पूजाका विधिहरू लगभग एउटै भएपनि अर्पण गरिने चिजबीजमा हामी नेपाली नेपाली बीचपनि केही भिन्नता छन् । कसैले रातो टीका लगाएर मनाउने गर्दछौँ त कसैले सेतो टीका लगाएर मनाउने गर्दछौँ । जमरामा पनि केही भिन्नता छन् । त्यस्तै बली परम्परा र खानपानमा पनि भिन्नता छन् ।
माछा मासु सेवन नगर्नेहरूले कुभिण्डा मुला, नरिवल आदिको बली दिने गर्दछौँ भने माछामासु खानेहरूले बोका राँगा आदिको बली दिने गर्दछौँ । देवीलाई मदिरा आदि पनि अर्पण गर्ने गरेका छौँ । हामीलाई जो प्रिय छ त्यो वस्तुपनि भगवतीलाई दिएर मनाउने चलन परापूर्व कालदेखि नै चली आएको हो ।
हाम्रा शरीरभित्रका साक्षात् भगवती शक्ति मातालाई चढाउने वस्तु मौला देउराली आदिका रूपमा राखिएकी बाहिरकी भगवती शक्ति मातालाई पनि चढाउने र त्यसलाई प्रसादका रूपमा लिने चलन छ । तर, जसजसले जसरी मनाएपनि हामी नेपालीले कसैको पूजा प्रणालीलाई लिएर घृणा द्वेषादि गर्दैनौँ ।
अनावश्यक टिका टिप्पणी गर्ने गरेका छैनौँ । तर पनि अहिले नेपालमा विशेषगरेर यो लोकतन्त्र नामको विर्कोले ढाकिएर हाम्रा मौलिक धर्म संस्कार र संस्कृतिप्रति अनावश्यक टिप्पणी गर्ने र वदनाम गर्नेहरूको व्यापार विजनेस दिन प्रतिदिन बढिरहेको छ ।
त्यो जमात विशेषगरेर विभिन्न रूपमा हामीमाझ आएर हामीलाई नै दिग्भ्रमित पार्ने काम गरिरहेको छ । फ्रिजमा राखेर सिनो बनाएको चिजबीज खाने पटमूर्खहरूले वलीको विरोध गरिरहेको हुन्छ । एकादशी न औँसी निकाल भाई रौसी भन्नेहरू र देवता न पित्रृ मुखभित्र भन्नेहरूले समेत वलीको विरोध गरेको देख्दा चाहिँ कञ्चट तातेर आउँछ ।
अझ त्यति मात्र कहाँ हो र वर्षैभरि आफूलाई नास्तिक एवम् अनीश्वरवादी भन्ने विशेषणलेयुक्त हुँदा गमक्क पर्ने बुद्धिजीवी भनिएकाहरूले समेत वलीको विरोध गरेको देख्दा चाहिँ काँशी हिँडेको विरालोको याद आउँछ ।
ओहो यतिले मात्र पनि कहाँ पुग्यो र आफुलाई एकदम संसारकै गन्ने मान्ने भौतिकवादी भनाइन रुचाउनेहरू जसले आफूलाई अल्बर्ट आइन्स्टाइनभन्दा पनि माथि सम्झेका खालका कुरा गर्दै यी भौतिकवादका उपज नासवान् यान्त्रिक प्रणाली पनि आफ्नै पेवा जस्तो ठान्छन् ।
उनीहरूलाई समेत त्यो वलीको बेलाचाहिँ धर्मको याद आउँछ । यी सबै प्रकारका मन्द बुद्धिहरूलाई वली आस्थाले दिने चिज भन्ने थाहा पाएरपनि विदेशीहरूको नुन खाएकै भरमा अनावश्यक रूपमा बक्बकाइरहेका हुन्छन् ।
यी अनेकन बुद्धुहरूको बक्बकाइको अर्थ नबुझी फेरि केही लटाधारी जटाधारी मति श्रीमती सबै भएका धर्मगुरु र मर्म गुरुहरूले पनि तालमा ताल मिलाईरहेका देखिन्छन् । यी मनुष्य रूपमा भएर पनि वाँदरका रूपमा चित्रितहरूले दिन प्रतिदिन हजारौँ पशुहरूको विना विधान र विना पशु अधिकार हत्या हुँदा चुइँक्क बोल्ने शाहस हुन्न । तर हामीहरूका पर्वमा भने उच्च स्वरले गधा स्वर गर्नचाहिँ खुबै फुर्सद भएको हुन्छ ।
किनकि नुनको सोझो त गर्नैपर्यो । अझ यिनी देवता नै मान्दैनौँ भन्ने मारकसवादी र समा–हजवादी पनि यही बेलामा फुटेको खैँजडी बजाउन खोज्दछन् । त्यसैले यी बाँदरहरूको प्रशंसा जसरी गरे पनि कमी नै हुने गर्दछ ।
त्यसैले हाम्रा शास्त्रहरूमा हामीले गरिने पूजा आजाका कर्म एवम् अरू पनि व्यावहारिक कर्म गर्दा यस्तो हुन्छ भनेर लेखेकै छ । त्यसैका आधारमा हामीले हाम्रो इच्छा अनुसार कर्म गर्ने हो । शाक्तशैव वैष्णव गाणपत्य सौर्य के बन्ने भन्ने कुरा हाम्रो स्वतन्त्रताको कुरा हो ।
भूर्लोक स्वर्लोक महर्लोक जनादि कुन लोक जाने हो, त्यो अनुसार काम गर्नका लागि हामी स्वतन्त्र नै छौँ । यहाँ वली गर्न हुन्न भन्ने र बोकाको मासु खानै पर्दछ भन्ने दुबै मन्द बुद्धि हुन् । अरूले के गर्छन् भन्दा पनि आफु कहाँ जाने त्यो आफैले जान्ने कुरा हो । त्यसैले हाम्रा चलन प्रचलन अनुसारका हाम्रा पूजादि कर्म अनुसार दुर्गामाताको सबैले आराधना गरौँ । सबैमा मङ्गलमय शुभकामना ।