Butwal Today

यात्रा सुरक्षित बनाउन चालक र यात्रुलाई मन्त्री घिसिङको चार सुझाव

८ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ८ असोज ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँका अवसरमा यात्रुलाई सुरक्षित यात्रा गर्न र चालकले जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक सुझाव दिएका छन् ।

सहरबाट आफ्ना घर फर्कने यात्रुको चाप बढिरहेको अवस्थामा, मन्त्री घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत चालक र यात्रु दुवैका लागि चार–चार सुझाव सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन :

सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष​ अनुरोध  :

तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।

चालक साथीहरूलाई अनुरोध :

-गति नियन्त्रणमा राख्नुहोस्।

-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्।

-विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्।

-यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस्।

यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध :

-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौँ।

-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौँ।

-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔँ।

-यस दसैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो।

सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो।

यहाँहरू सम्पूर्णलाई दसैँको हार्दिक शुभकामना !

यातायातसँगै सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमेत सम्हालिरहेका घिसिङले सुरक्षित यात्रा सुनिश्चित गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।