Butwal Today

शिक्षामन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बसोबास गर्दै

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ७ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

केशरमहलस्थित मन्त्रालय भवनमै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘कोठा भेटिएको छ । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुन्छ । सुत्ने र खाने व्यवस्था भएको एक सेट कोठा तयार गरिएको छ,’ मन्त्रालयकी सहसचिव अनिता निरौलाले जानकारी दिइन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनका क्रममा जलाइएपछि हाल केशरमहलबाट सेवा प्रवाह भइरहेको छ । ‘सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको हो,’ सहसचिव निरौलाले भनिन् ।