© २०२३
काठमाडौं ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै, छठ पर्वपछि आन्दोलन सुरु गर्ने जानकारी दिए ।
उनले भने, “हामी दशैँ, तिहार र छठपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात, बौद्धसहितको हिन्दु अधिराज्यको पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्छौं । पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।”
प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक (अपहरण) गरिएको आरोप लगाउँदै, बारबरा र समता फाउन्डेसनसँग सम्बन्धित ‘सुकिला मुकिला’हरू मन्त्री बनेको टिप्पणी गरे ।
सामाजिक सञ्जालमा स्ट्याटस लेखेर सीमित हुने किसिमको आन्दोलन नगर्ने भन्दै उनले भने, “अब कोठाभित्र फेसबुक स्ट्याटस लेखेर होइन, आन्दोलनको नेतृत्व हामी आफैँ लिन्छौँ । २०४७ सालको संविधान पुनर्स्थापनाका लागि लड्छौँ ।”