© 2026
काठमान्डौ, ६ असोज ।
मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा पन्छाउनका लागि सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द गरेर बाँकी पहिरो हटाइनेछ । गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजे सडक एकतर्फी सञ्चालनमा आएको थियो भने राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।
आज बिहानसम्म पनि तुइन खोला पुल नजिक मात्र सडक एकतर्फी सञ्चालनमा छ, अन्य स्थानमा दुईतर्फी गाडी सञ्चालन भइरहेको छ । दशैंको अवसरमा घर फर्किने यात्रु बढ्ने भएकाले बाँकी पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।
लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप बढेको छ । लेन अनुशासन पालना नभएका कारण ठाउँ–ठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालयले लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न सबैलाई अनुरोध गरेका छन् ।