© २०२३
गुल्मी,४ असोज ।
सार्वजनिक बिदा र शनिबारका दिनमा पनि गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालन भएका छन् ।
सत्यवती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेका अनुसार असोज तीन गते संविधान दिवस, चार गते शनिबार र छ गते घटस्थापनाका दिन पनि विद्यालय सञ्चालन हुने बताएका छन् ।
गत वैशाखमा शिक्षक महासङ्घको नेतृत्वमा भएको शैक्षिक आन्दोलनको क्रममा विद्यालयहरू बन्द भएको र शिक्षण सिकाइमा भएको क्षति आपूरण गर्नका लागि शिक्षक महासङ्घ सत्यवती गाउँपालिकाको वैशाख २८ गतेको निर्णय अनुसार विद्यालय सञ्चालन हुने पाण्डेले बताए ।
शिक्षक महासङ्घ सत्यवतीले आन्दोलनको समयमा भएको क्षति आपूरण गर्नका लागि वर्षे बिदामा तीन दिन र सार्वजनिक बिदामा तीन दिन गरी छ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाको शिक्षा शाखाका लोगराज गिरीका अनुसार पालिका भित्र सामुदायिक ३२ र संस्थागत तीन गरी ३५ विद्यालयहरू रहेका छन् भने करिब चार हजार विद्यार्थी रहेका छन् ।