Butwal Today

अलपत्र रहेका जीर्ण आयोजनाको ठेक्का तोड्ने मन्त्री घिसिङको तयारी

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, ३ असोज ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र रहेका जीर्ण विकास आयोजनाका ठेक्का तोड्ने तयारी भएको बताएका छन् ।

तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखसँगको छलफलमा उनले काम नगर्ने निर्माण व्यवसायीको अनुहार नहेरी तत्काल सूची तयार गर्न निर्देशन दिए । उनका अनुसार तोकिएको समयमै काम सम्पन्न नभए मुलुकलाई ठूलो आर्थिक क्षति हुने र नागरिक लाभबाट वञ्चित हुने भएकाले जीर्ण आयोजनालाई नयाँ ठेक्का प्रक्रियामा अघि बढाइनेछ ।

सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधारतर्फ तीन पटकभन्दा बढी ढिलाइ भएका सडक र सयभन्दा बढी पुल आयोजना अलपत्र रहेका छन् ।

यसैबीच मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन आगामी पुसभित्र सक्नुपर्ने निर्देशन दिएका छन् । उनले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण व्यवसायीसँगको छलफलमा संसद भवन संवेदनशील आयोजना भएकाले कुनै पनि बहानामा ढिलाइ सह्य नहुने स्पष्ट पारे । भवनको भौतिक प्रगति हाल ८६ प्रतिशत पुगेको छ ।

अनियमितीकरणबारे चेतावनी दिँदै मन्त्री घिसिङले कार्यालयअन्तर्गतका निकायमा अनियमिता फेला परे तत्काल कारबाही गर्ने बताए । एक रुपैयाँ पनि अनियमिता भयो भने दोषीलाई छाडिने छैन, भन्दै उनले सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिए ।