“नैनं छिन्दन्ति शस्त्राणि नैनं दहतिपावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयतिमारुतः ।।”
शस्त्रले छिनाउन सक्दैन, आगोले जलाउन सक्दैन, पानीले बगाउन र हावाले उडाउन पनि सक्दैन । हाम्रा इतिहासका पानाहरु भएको केन्द्र नै ध्वस्त भएपनि सहिदको आत्मा अमर छ । उहाँहरुको आत्मा कहिल्यै मर्ने छैन र हामीले गर्ने सम्मानमा पनि कमी आउने छैन ।
यस आन्दोलनमा ज्यान गुमाउनुहुने सम्पूर्ण सहिदप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
२३ र २४ भाद्र, २०८२ विश्वकै इतिहासको नौलो दिन, नेपालको समकालिन इतिहासको कालो दिन जसमा हाम्रा विर युवाहरुले ज्यानको आहुती दिनुपर्यो । युवा पुस्ताको आँशु, आमाबावुको छाति चिरिएको चित्कार सुरक्षाकर्मीको बर्वर शैली अनि राज्यको मौनता – यी सबै कुराहरुले हामीलाई फेरि एकपटक प्रश्न गर्न बाध्य बनायो –हाम्रो लोकतन्त्र वास्तवमै जनताको हितमा सञ्चालन भइरहेको छ त ?
देशभर फैलिएको शान्तिपूर्ण जनप्रदर्शन अचानक हिंस्रक मोडमा पुग्यो, सरकारको ढिलासुस्ती, संवादहिनता, भ्रष्टचारको चाङ र चुपचाप राजीनामा गर्नुको सट्टा केटाकेटी खेल, अपरिपक्व व्यवहार तथा आफूलाई वाद्य र युवाहरुलाई स्यालको संज्ञा सहित प्र.म.ले दिएको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम ग¥यो ।
आँकडाहरु भन्छन् – यो केवल आन्दोलन थिएन – विद्रोह थियो । जसमा ७४ जना नागरिकले ज्यान गुमाए । २११५ भन्दा बढी घाइते भए भने दर्जनौं सरकारी भवन, सार्वजनिक सम्पत्ति, प्रहरी इकाइहरुमा समेत तोडफोड एवं आगजानी भयो, नेता एवं उच्च पदस्थ कर्मचारीका घरगाडी जलाइए भने विभिन्न पार्टी कार्यालयमा समेत तोडफोड एवं आगजानी भयो ।
यी आँकडाहरु साक्षी छन् किः यो आन्दोलन कुनै फेसबुक प्रतिबन्ध सामाजिक सञ्जाल प्रतिवन्ध वा एकातिरको सरकारको विरोध मात्र थिएन । यो कयौं वर्षदेखिका सरकारका घटनाक्रम र खिचिएका इतिहासले सिकाएको पाठ हामी बिर्सियौं ।
२०६२÷६३ को जन आन्दोलनले हामीलाई जनताको चाहनाविना शासन असम्भव छ भन्ने शिक्षा दिएको थियो । त्यस आन्दोलनबाटः
– गणतन्त्र आयो,
– संविधान आयो,
– बहुदलीय शासन, संघीय संरचना र अधिकारको पुनसंरचना भयो ।
तर दुर्भाग्य भन्नुपर्छ, यही आन्दोलनमा उठेका सपना २० वर्षमै फेरि धुलोमा मिसिन थाले “नेतृत्व फेरियो चरित्र फेरिएन । संरचना बदलियो तर स्वार्थको भावना यथावत रह्यो ।”
राजालाई जन्मसिद्ध भत्ता दिएको, राजा र तिनका सन्तानले मात्र सुखभोग गरेको र आम नेपाली जनतालाई कष्टपूर्ण जीवन बिताउन बाध्य पारेको जस्ता विषयलाई उठान गरी आन्दोलनमा होमिएको पुस्ता व्यवस्था परिवर्तन गर्ने नाममा काजक्रियामा रहेका मानिसहरुको समेत हत्या गरी त्रासपूर्ण अवस्था सिर्जना गरेर व्यवस्था त परिवर्तन भयो तर आम जनताको नजरमा यो व्यवस्था केही छोटे राजाहरुको लागि मात्र सफल भएको अनुभूति हुन थाल्यो । बहुदलको नाममा लुटपाट, हिंसा, भ्रष्टाचार, अनियमितता जस्ता कामहरु हुन थाले । प्रत्येक मञ्चमा नेताले गर्ने भाषण फेरिए तर जनताको अवस्था फेरिन सकेन, बेरोजगारी हट्न सकेन, जसबाट दिक्क नेपाली जनता र यस अनियमितताको मुख्य शिकार भएका मेरो पुस्ता (जेन्जी पुस्ता) सामाजिक सञ्जालको प्रतिवन्ध पश्चात् एकसाथ विद्रोहमा निस्कियौं । तर यो विद्रोह केवल सामाजिक सञ्जाल प्रतिवन्धको मात्र थिएन, यो त कयौं वर्ष यतादेखि थुप्रिएर/गुम्सिएर रहेको आक्रोश थियो । नेपालको राजनीतिक प्रणाली प्रतिको नै विरोध थियो । जसका मागहरु स्पष्ट छन् ।
आन्दोलनका मुख्यमागहरुः
भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता,
सूचना र अभिव्यक्ति स्वतन्त्रताको रक्षा,
राजनीतिक पारिवारिकता अन्त्य,
अवसरको समानता,
उच्च स्तरीय छानविन र जवाफदेही शासन,
बेरोजगारी न्यूनिकरण,
राष्ट्रियता र सम्प्रभुताको रक्षा ।
यी मागहरु कुनै राजनीतिक दलका घोषणापत्र होइनन् । यी देशका छोराछोरीका रगतले लेखेका मागहरु हुन् ।
नेतृत्व र सरकारप्रति जनताको चासो/आस्था
आन्दोलनपश्चात् तहसनहस भएको देश र अर्थतन्त्रलाई सुधार गरी देशलाई निश्चित निकास दिनका लागि निर्वाचनमा लैजान अहिले अन्तरिम प्रधानमन्त्रीको रुपमा श्री सुशीला कार्की ज्यू नियुक्त हुनुभई हाल कार्यभार समेत सम्हालिरहनु भएको अवस्था छ । त्यस्तै, गृहमन्त्रीमा ओम प्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल साथै उर्जा मन्त्रीमा कुलमान घिसिङज्यू नियुक्त हुनुभएको छ । मन्त्रीमण्डल विस्तारको क्रम जारी छ । आफूले सम्हालेको÷नेतृत्व गरेको उलेख्य रुपमा योगदान पु¥याउनु भएका महान व्यक्तित्वलाई सरकारमा देख्दा अब, देशले केही मुहार फेर्न सक्छ कि ! भन्ने आशा लागेको छ ।” नेतृत्व जन्मने होइन संघर्षबाट निर्माण हुन्छ” भने झै ठूलो संङ्घर्षबाट आफ्नो पदले भ्याए सम्मको काम गर्नुभएका यस्ता दिग्गज व्यक्तित्व सरकार÷मन्त्रालयमा हुनु हामी सबै नेपालीमा गौरवको कुरा हुन आउँछ । जताततै अनियमितता र बेरोजगारी बढेको यस विषम परिस्थितिमा आन्दोलनका नाममा भएका अरवौं क्षति, कार्यालयका अभिलेखहरु तहसनहस भएको यस परिस्थितिमा सरकारको नेतृत्व गर्नु आफैमा एक चुनौतीको विषय हो । राजसंस्थाको अन्त्य पश्चात् थुप्रै नेता गणहरुको सरकारमा जानुभयो, मन्त्री प्रधानमन्त्री हुनुभयो तर उहाँहरुको काम भनेको व्यवहारमा ल्याउनुपर्ने विषयलाई शब्दमा मात्र प्रस्तुत गरेर टार्नुभयो । अल्झाउनु भयो जसका कारण यस विद्रोह भएको हो । तर हाल सरकारको नेतृत्व गरिरहनुभएका व्यक्तिहरुलाई यसो गर्ने छुट भने अवश्य पनि हुने छैन । जनताका लागि अब शब्द होइन कर्म प्रस्तुत गर्नुपर्ने समय आएको छ ।
“सत्सङ्गो केशवे भक्ति”
सज्जनको सङ्गत गर्नाले फोहोरमा बस्ने भमरा पनि भगवानको शिरमा गएर बसेको थियो । यसप्रकारले नै हाम्रो देशको सरकारको नेतृत्व गर्नुभएका सज्जन व्यक्तिका कारण अब हामी देशवासी पनि छिट्टै सफलताको बाटोतर्फ लम्कनेमा म विश्वस्त छु । यदि यो सरकार साँच्चिकै सक्षम, इज्जत र जनपक्षीय छ भने जनताको टुटेको भरोसा जोड्ने सु–अवसर पनि यही हो ।
“साढेको जधाइ बाच्छाको मिचाइ” भनेझैं यस जेनजी आन्दोलनको क्रममा केही विश्धवसंकारी व्यक्ति र केही अराजक समूहका कारण इमानदार एवं कर्तव्यनिष्ठ नेता तथा कर्मचारीका घर गाडीहरुमा समेत तोडफोड एवं आगजनी भएको छ । म यस घटनाप्रति दुःख व्यक्त गर्दछु । युवाहरुको न्यायपूर्ण आन्दोलनमा यस्ता किसिमका अराजक एवं पीडादायी घटना हुनु आफैमा एक दुःखको कुरा हो । मेरो ठम्याइमा यस्ता अराजक तथा हिंसात्मक घटनाहरु आन्दोलनकारीबाट होइन, घटना बदनाम पनि नियोजित समूहबाट भए यसकारण अब,
– हिंसा र आगजनीमा संलग्न वास्तविक देखि छुटाइनु हुँदैन ।
निष्पक्ष र राजनैतिक प्रभावरहित छानविन होस् ।
“अन्यायोषर्जित द्रव्यदश वर्षाणि तिष्ठति ।
प्राप्तेय ऐकादेशेवर्षे समूलंनविनिश्यतिं ।।
अन्यायबाट कमाएको सम्पत्ति दश वर्षसम्म मात्र रहन्छ, एघारौं वर्ष पुग्दा त्यो जरोसित नष्ट हुन्छ । त्यो धनमात्र होइन त्यसको आधार समेत नष्ट हुन्छ भन्ने सन्देश दिएको श्लोक जस्तै भयो वर्तमान परिवेश पटक पटक देश र जनतालाई झुक्याई थुपार्नुभएको सम्पत्ति क्षणभरमै तहसनहस हुन पुग्यो । तर, नेपाल आमाको रगत बेचेर कमाएको धन, सम्पत्ति चोर वा आगोबाट होइन राज्यद्वारा जफत हुनुपर्छ भन्ने हामी “जेन जी” आन्दोलनकर्ता साथै मेरो व्यक्तिगत माग समेत रहेको छ । आफूले पाएको जनमत र पदको अवमूल्यन गरी भ्रष्टाचार गर्ने, बलात्कार गर्ने, दोषी बचाउने निर्दोष फसाउने सम्पूर्ण नेता, कार्यकर्ता तथा कर्मचारीलाई कारवाहीको दायरनामा ल्याइ आजीवन कारावासको सजाय समेत गरिनुपर्छ भन्ने हाम्रो माग छ । हामी आवाज उठाइरहने छौं साथै कारवाहीको दायरामा ल्याउने छौं ।
संस्कृत श्लोक छ
“दुर्जनेन समं शौच्यं, चापि न कारणम् ।
उष्णैर्दहतिचाङ्गारः, शीतैः कृष्णयते करम् ।।
दुर्जनको सङ्गत नै नगर्नु, बलेको आगोले पोल्छ । पानी खन्याएपछि आगो त निभ्छ तर अगार छुदा हात नै कालो हुन्छ ।
मैले लेखमा जोड्न खोजेको कुरा–
पार्टी र पहुँचको आधारमा जनतालाई अन्याय गर्ने हाम्रा नेताहरुको सङ्गत नै नगरौं अर्थात फेरि नेतृत्वमा पु¥याउने काम नगरौं । पानी खन्याइयो आगो त निभ्यो तर त्यही आगोलाई छोयौं भने फेरि दाग लाग्न सक्छ । तसर्थ, नयाँ, सक्षम र उर्जावान व्यक्तिलाई मतदान एवं समर्थन गरी उनीहरुको क्षमता अनुरुपको नेतृत्वमा पु¥याउँदा देशले अवश्य पनि मुहार फेर्ने छ ।
निष्कर्षमा
यो आन्दोलन कुनै राजनीतिक दलको आन्दोलन थिएन, पार्टी सङ्गठन विस्तारको लागि थिएन वा कुनै एजेन्टहरुको षडयन्त्रका नभइ यो त जनताको अन्तिम विकल्प थियो, जुनकुनै देश र सम्पूर्ण देशवासीको हितका निमित्त समर्पित भएको कुरा स्पष्ट छ ।
यस आन्दोलनको क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण सहिदप्रति म पुनः भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । हजुरहरु अमर हुनुहुन्छ । रहिरहनु हुनेछ । घाइतेहरुको योगदान अतुलनीय छ । सहिदहरुको बलिदान र युवाहरुको योगदान अर्थपूर्ण बनाउने जिम्मेवारी अब सरकार र मन्त्रीमण्डलको मात्र नभई यस लेख लेख्दै गर्दा, लेख लेख्ने म यस लेखलाई हजुरहरु सामु पु¥याउन सहयोग गर्नुहुने बुटवल टुडे, सञ्चारकर्मी लगायत यस लेख पढ्ने हजुरहरु साथै सम्पूर्ण देशवासीको भएको व्यहोरा म स्मरण गराउन चाहान्छु ।
यसरी, हजारौं युवाहरुको त्याग, बलिदान र संघर्षबाट निर्माण भएको अन्तरिम सरकार जसलाई सार्वभौम जनताले सहयोग र समर्थन गरेको परिवेशमा नेतृत्वले कान थुन्ने र आफू उम्कने कार्य यदि गर्छ भने, “यो देशमा लोकतन्त्रको अर्को विद्रोह टाढा छैन”