© 2026
काठमान्डौ, २ असोज ।
जेनजी आन्दोलनका कारण बालकोटस्थित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास पूर्णरूपमा ध्वस्त भएपछि, उनी चाँडै अस्थायी बसोबासबाट बाहिर निस्किने तयारीमा छन् । नेपाली सेनाको सुरक्षामा रहेका ओलीका लागि सुरक्षित बसोबासको खोजी तीव्र पारिएको छ ।
आन्दोलनमा प्रमुख रूपमा एमालेका कार्यालय र नेताहरूको निवासमा तोडफोड र आगजनी भएको थियो । बालकोटस्थित ओलीको निजी निवास पूर्ण रूपमा खण्डहर बनेको छ । उनको सुरक्षित रूपमा बाहिर निस्किनासाथ नजिकका सहयोगीहरू बसोबासको प्रबन्धमा जुटेका छन् । एमालेका उच्च स्रोतले अध्यक्ष ओली बसोबासको व्यवस्था मिलाएर तीन–चार दिनभित्र सार्वजनिक रूपमा देखिन सक्ने बताए ।
जेनजी आन्दोलनले देशमा राजनीतिक उथल–पुथल ल्याएपछि एमाले भित्र पार्टी पुनर्गठनको बहस जारी छ । तर, नेतृत्व तहमा अहिलेसम्म कुनै औपचारिक संकेत देखिएको छैन । ओलीको अनुपस्थितिमा पार्टीको कुनै औपचारिक बैठक बसेको छैन । स्रोतका अनुसार, अध्यक्ष स्वयं बाहिर आएपछि मात्र बैठक बस्ने तयारी भइरहेको छ र अध्यक्ष पद त्याग्ने कुनै संकेत पनि उनले दिएका छैनन् ।
अहिले ओली पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा रहेका छन् । उनका निर्देशनअनुसार भोलि एमालेले संविधान दिवसको कार्यक्रम आयोजना गर्दैछ । आन्दोलनका क्रममा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयको भग्नावशेषमै कार्यक्रम हुने भएको छ । कार्यक्रममा पार्टीका प्रमुख नेताहरू उपस्थित हुनेछन् ।