Butwal Today

देश विदेशीको कब्जामा पर्न सक्ने दाबी गर्दै हर्क साम्पाङ भावुक

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ३१  भदौ ।

नेपालमा बाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका साम्पाङले रुँदै मुलुक विदेशी शक्तिको कब्जामा पर्न सक्ने खतरा रहेको बताएका छन् ।

उनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रचलित नेताहरू तितरबितर भए र मुलुकको नेतृत्व लिन कोही अघि नसरेपछि आफू अघि सरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा साम्पाङ चिन्ता व्यक्त गर्दै आँसु झारेको देखिन्छ ।

‘विदेशीहरूले अहिले नै टेकओभर गर्न सक्छन्, तर नेताहरू सबै भागाभागमा छन् । कोही कुटाइ खाइरहेका छन्, कोही पार्टी कार्यालय तहसनहस भइरहेको छ । अब कसले नेतृत्व लिन्छ ? कोही छैन,’ साम्पाङको भनाइ छ ।

मानिसहरूको आग्रहपछि आफू अघि सरेको दाबी गर्दै उनले भने, ‘गोली लाग्न सक्छ भन्ने चेतावनी थियो, तर लाग्छ भने लागोस् भनेर म निस्किएँ ।’

आफू अघि सर्दा अरू लुकेको आरोप लगाउँदै उनले मुलुकलाई जोगाउन बलिरहेको आगोमा हाम फालेको बताए ।

जनस्तरको आग्रहअनुसार प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्दै साम्पाङ भदौ २५ गते काठमाडौं आएका थिए। यस क्रममा उनले प्रधानसेनापति अशोक राज सिग्देलसँग भेट गरेका थिए ।

जेनजी युवाहरूको अनलाइन मतदानमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सर्वाधिक मत पाएको र उनको नाम प्रधानमन्त्रीका लागि अघि बढेपछि साम्पाङले समर्थन जनाए पनि, कार्की नियुक्त हुने लगभग निश्चित भएपछि उनले असन्तुष्टि प्रकट गरेका थिए ।

धरान फर्किएका साम्पाङ पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै आक्रोश व्यक्त गर्दै आएका छन् । नाम नलिएरै उनले शाहलाई पर्दापछि बसेर ‘किङमेकर’ बन्न खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?