© २०२३
काठमाडौं, २५ भदौ ।
राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि हाल जेनजी आन्दोलनमा सक्रिय युवाहरू आफ्ना राजनीतिक एजेन्डाहरू तय गर्न भर्चुअल छलफलमा जुटेका छन् ।
भर्चुअल मञ्च ‘डिस्कोर्ड’ मा ३,२०० भन्दा बढी युवाहरूले विभिन्न प्रस्ताव र विचारमाथि गहिरो छलफल गरिरहेका छन् । उनीहरू मुख्यतः अबको आन्दोलनको दिशा, शासकीय स्वरूप, कार्यकारी प्रमुखको कार्यकाल, निर्वाचनको समयसीमा लगायतका संवैधानिक र संरचनात्मक विषयमा आन्तरिक संवादमा जुटिरहेका छन् ।
भर्चुअल छलफलमा खास गरी संसद विघटन हुनुपर्ने, संसद विघटनको कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्षको हुने र एक जना व्यक्ति बढीमा दुई कार्यकाल वा ८ वा १० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने लगायतका बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
त्यस्तै, वार्तामा सहभागिता जनाउने प्रतिनिधित्व कसले गर्ने, नेतृत्व कसलाई सुम्पिने भन्ने विषयमा पनि सहभागीहरूबीच बहस जारी छ ।
स्रोतका अनुसार, जेनजी पक्षका प्रतिनिधिहरू वार्तामा जाने सम्भावित नामहरूको प्रारम्भिक सूची बनाउने प्रक्रियामा छन् । छलफलमार्फत साझा दृष्टिकोण र रणनीति तय गरी औपचारिक वार्तामा प्रस्तुत हुने तयारी भइरहेको जनाइएको छ ।