© २०२३
नेपालगन्ज, २५ भदौ ।
बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित क्षेत्रीय कारागारका गेटबाट भाग्न खोज्दा ५ जना बालकको मृत्यु भएको छ । गए राती नौवस्ता बालसुधार गृहका बालकहरू सँगै रहेको क्षेत्रीय कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गर्दा पाँच जना बालकहरूको मृत्यु भएको हो ।
घटनाबारे जानकारी दिँदै नौवास्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर रानाले भने, ‘‘राती १०–११ बजेको समयमा बालकहरू कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले कारागारको कैदी सम्झेर हवाईफायर गरेर नियन्त्रणमा लिनखोज्दा घटना घट्यो ।’’ घटनामा अन्य दुई जना वालक घाइते भएका उनले जानकारी दिए । प्रमुख रानाका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । घटनामा घाइते भएकाहरूलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको प्रमुख रानाले पुष्टि गरेका छन् । घाइते दुई जनाको उपचार जारी छ ।
क्षेत्रीय कारागारमा रहेका कैदीहरूले मङ्गलवार साँझ पख जेन्जी हामीलाई पनि बाहिर निकाल भनेर कारागारभित्रै नाराबाजी गरेको सुनिएको प्रमुख रानाले बताए । उनले भने, ‘‘सुधारगृहमा रहेका सबै जना जेन्जी पुस्ताकै छन्, त्यसैले क्षेत्रीय कारागारका कैदीसँगै मिलेर भग्ने प्रयास गरेका रहेछन् ।’’ सोही घटनाको क्रममा क्षेत्रीय कारागारबाट १४९ जना कैदीबन्दी र बालसुधार गृहबाट ७९ जना बालबन्दीहरु पनि भागेको सुधार गृहका प्रमुख रानाले जानकारी दिए । अहिले बालसुधार गृहमा ९० जना वालक सकुशल रहेको उनले बताए । भागेका बालकहरूको अभिभावकलाई सम्पर्क गरेर बालकहरूलाई सुधार गृहमा ल्याइदिन आग्रह गरिएको पनि उनले बताए । केही बालकहरू आफै सम्पर्कमा आउन थालेको उनले जानकारी दिए ।
अहिले बाल सुधार गृह र क्षत्रिय कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । बालसुधार गृहमा जम्मा १७६ जना बालबन्दी र क्षेत्रीय कारागारमा ५८० बढी कैदीबन्दी रहेको बताइएको छ ।