© 2026
भैरहवा, २४ भदौ ।
भदौ २३ गते जेनजी समूहले राज्य सञ्चालनमा देखिएको विकृति र भ्रष्टाचारविरुद्ध गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले ऐक्यबद्धता जनाएको छ ।
संघले शोक व्यक्त गर्दै घटनाको विरोधमा आज (मङ्गलबार) रुपन्देहीका सम्पूर्ण उद्योग तथा व्यवसाय बन्द गर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार भएको बताउँदै आन्दोलनरत युवामाथि भएको अमानवीय व्यवहारको कडा शब्दमा निन्दा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक समाजमा नागरिकले आफ्नो माग र आवाज शान्तिपूर्ण आन्दोलनमार्फत व्यक्त गर्नु संवैधानिक र नैसर्गिक अधिकार हो भन्ने दृढ विश्वासका साथ आन्दोलनरत युवामाथि भएको अमानवीय व्यवहार र घटनाले सम्पूर्ण व्यवसायीलाई गहिरो पीडामा पारिदिएको छ ।”
सो आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका सबैको असामयिक निधनप्रति सङ्घले गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना पनि गरेको छ ।