Butwal Today

कार्यालय नखुल्दै परिचयपत्र बनाउनेको प्रशासनमा लाइन

१८ भाद्र २०८२, बुधबार
अ+
अ-

 गुल्मी, १८ भदौ ।

कार्यालय नखुल्दै परिचयपत्र बनाउनका लागि जिल्ला  प्रशासन कार्यालयमा लाइन लाग्ने गरेको छ । बिहान नौ बजे देखिनै सेवाग्राहीहरु लाइनमा लागेको देखिएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ८० वर्षीय आत्मराम घिमिरेले पनि सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र अनिवार्य भनेपछि बिहानैदेखि लाइनमा आएर बसेको बताएका छन् ।

पहिले नै आएर लाइनमा बसियो भने छिटो काम होला भनेर आफू कार्यालय समय अगावै लाइनमा बसेको उनले बताए ।
यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ खस्थोकका ८४ वर्षीय लीलबहादुर क्षेत्री पनि परिचयपत्र बनाउनकै लागि कार्यालय समय अगावै लाइनमा बसेका थिए ।

उनले पनि परिचयपत्र नभई भत्ता नपाइने भएपछि परिचयपत्र बनाउनकै लागि प्रशासनमा आएको बताए ।
यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय भएकाले पनि सेवाग्राहीहरूको भीड लागेको बताएका छन् ।

प्रशासनले वृद्धवृद्धाहरुलाई पहिलो प्राथमिकता दिएर सेवा प्रदान गर्दै आएको दाबी गरे । परिचयपत्र बनाउनेको भीड लागेकाले व्यवस्थित गर्नका लागि टोकन सिस्टम लागु गरिएको उनको भनाइ छ  ।

आइतबार मात्रै १२१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको गैरेले बताए । जसमध्ये धेरै वृद्धवृद्धाहरु रहेको राष्ट्रिय परिचयपत्र फाँटकी सरिता आचार्यले बताइन्  । सोमबार र मंगलबार पनि परिचयपत्र बनाउनेको भीड नै रहेको थियो।

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ । गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ६२ जनाले नयाँ नागरिकता बनाउँदा ८६ जनाले प्रतिलिपि बनाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार  एक हप्तामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी रहेको छ  । नागरिकतालाई माया नगर्ने, जथाभाबी फाल्ने र पहिले भएका गल्तीहरू सच्याउने गर्दा पनि प्रतिलिपि लिनेको सङ्ख्या बढी भएको हो ।

यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकतामा भएका गल्तीहरू देखिने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्या बढेको गैरेले बताए । सोही समय अवधिमा नावलक परिचयपत्र नौ , राहदानीका लागि आवेदन सङ्कलन ११३ , राहदानी वितरण ११०, राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५८, परिचयपत्र वितरण २०१ र ३५ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ ।

सोही समयमा एक संस्था नवीकरण भएको प्रशासनले जनाएको छ ।  यस समय अवधिमा राहदानीबाट पाँच लाख ६५ हजार, संस्था नवीकरणबाट  छ हजार पाँच सय,राष्ट्रिय परिचयपत्रबाट दुई हजार रुपैयाँ गरी कुल पाँच लाख ७३ हजार  पाँच सय राजस्व सङ्कलन भएको  छ ।