© 2026
जितपुर, भदौ १६ ।
‘रुख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल नाराका साथ वाणगंगा–९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २६औँ साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा समूहकी सचिव सुस्मा क्षेत्रीले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, व्यवस्थापन र सामाजिक विकाससँग जोडिएका गतिविधिहरूको विस्तृत विवरण प्रस्तुत गरेकी थिइन । त्यस्तै, समूहकी कोषाध्यक्ष माधुरी सेन ओलीले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी हुन ।
कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको भावी रणनीति र दीर्घकालीन योजनाबारे धारणा राख्दै वन संरक्षणसँगै उपभोक्ताको आयआर्जनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम अघि बढाइने जानकारी गराए । लेखा समितिका सदस्य मोतिकला पुनले पनि लेखा प्रतिवेदन सुझावसहित प्रस्तुत गरेकी थिइन् ।
यस अवसरमा सामुदायिक वन अन्तर्गत सञ्चालित अति विपन्न बाल विकास केन्द्रमा अध्ययनरत ९ जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय, गोरुसिङ्गेका प्रमुख मोतिराम पौडेलले सामुदायिक वनको गतिविधि निति, नियम र योजनाअनुसार पारदर्शी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिँदै वैज्ञानिक वन व्यवस्थापन प्रणाली सुरु भएपछि सामुदायिक वनले दिगो गरिबी निवारण र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका थिए ।
त्यस्तै, वडाध्यक्ष कमल पौडेल, लुम्बिनी प्रदेश वैज्ञानिक वनका अध्यक्ष दीपक कुमार थापा, पत्रकार महासङ्घका सदस्य बाबुराम रायमाझी, सामुदायिक वनका तर्फबाट बिन्द्र बहादुर गुरुङ लगायतले वडा स्तरका विकास–निर्माणमा सामुदायिक वनको सहकार्य र योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय स्तरमा यसले सकारात्मक प्रभाव पारेको बताए ।
वाणगंगा–९ मा अवस्थित कोइलीचौर साना किसान सामुदायिक वन २१८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस वनमा ४ सय ५५ उपभोक्ताहरू आबद्ध छन् ।