© २०२३
गुल्मी, १६ भदौ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले कृषकले लगाएको खेतीपाती जोगाउन ५३ जना हेरा लुको व्यवस्था गरेको छ ।
बाँदर, बँदेल, दुम्सीलगायतका बन्यजन्तुहरुले कृषकले लगाएको खेतीपाती नष्ट गरिदिने गरेकाले खेतीपाती संरक्षणका लागि हेरा लुको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार कृषकहरूले लगाएको बालीनालीलाई संरक्षण गर्नका लागि प्रति हेरा लु मासिक १७ हजारका दरले पारिश्रमिक प्रदान गर्ने गरी हेरा लुको व्यवस्था गरिएको हो । स्थानीय रोजगार सम्बन्धी कार्यविधि २०८१ अनुसार ५३ जना हेरा लु राखिएको उनको भनाइ छ । हेरालुहरुले वडा कार्यालयको मातहतमा रहेर खेतीपाती संरक्षण गर्ने गरेका छन् । जसले गर्दा कृषकहरूलाई ठुलो राहत मिलेको गाउँपालिकाले जनाएको छ ।
जङ्गली जनावरले खेतीपाती जोगाउनै समस्या भइरहेको समयमा पालिकाले हेरा लुको व्यवस्था गर्दा आफूहरूलाई ठुलो राहत मिलेको यहाँका कृषकहरूले जनाएका छन् ।
रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाका कृषक विष्ण्ुाप्रसाद ज्ञवालीले पालिकाले खेतीपाती संरक्षणका लागि हेरालुको व्यवस्था गर्दा स्थानीय सरकारको अनुभूति आफूहरूले पाएको बताए । विगतका वर्षहरूमा मकैलगायतको खेती जोगाउनै मुस्किल हुने समयको स्मरण गर्दै अहिले भने पालिकाले हेरालुको व्यवस्था गर्दा आफूहरूलाई ठुलो राहत मिलेको उनले बताए । अव मकैखेती पनि पाक्ने समय भएकाले ढुक्कसँग मकै खेती घरमा ल्याउन पाउनेमा आफूले विश्वास लिएको उनको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले स्थानीय सरकार जनताको समस्यालाई समाधान गर्नमा सदैव लागिपरेको बताउनुभयो । जङ्गली जनावरलाई मार्नका लागि कानुनले बन्देज गरेको बताउँदै खेती संरक्षणका लागि धपाउनु वाहेकको अन्य विकल्प नरहेको बताए ।
पालिकाले स्थानीय रोजगार सम्बन्धी कार्यविधि नै बनाएर लागु गरेकाले रोजगारको पनि व्यवस्था हुने र स्थानीयहरूको समस्या समाधान हुने उनको भनाइ छ । यसका साथै आवश्यकताको आधारमा कार्यपालिकाको निर्णय अनुसार अन्य क्षेत्रहरूमा कामदारहरूलाई लगाउन सकिने गाउँपालिकाले जनाएको छ ।