Butwal Today

आज वर्षा केही कम हुने, दिउँसो यी स्थानमा पानी पर्ने

१४ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

हिजो/अस्तिको तुलनामा आज (शनिबार) वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) रहनेछ। यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई र पहाड भूभागका केही स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यो खबर लेखिरहँदा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।

मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानआसपास छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।