© २०२३
काठमान्डौ, ६ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको आन्दोलनलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरुले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खाजेको भन्दै आपत्ति जनाएका छिन । उनले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्र भित्रको असहमतिको औपचारिकशैली भएको जिकिर गरिन ।
उनले रास्वपाको आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि भएको धारणा व्यक्त गरिन । लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नभइ प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सन नहुने उनको भनाइ छ । उनले दुई महिनाभन्दा बढी समयदेखि मानव तस्कर विरुद्ध निरन्तर आन्दोलन गरिरहदा परिणाम शुन्य नै रहेको उल्लेख गरेकि छिन ।
भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै–काण्डबाट निस्कनै नसकेको पार्टीहरूले रास्वपाका नेताहरुमाथि थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेको सांसद डाँगीको आरोप छ । डाँगीले आफुहरुमाथि नैतिकताको प्रश्न उठाउनु भनेको परिक्षामा उतिर्ण नभएका विद्यार्थीहरुले अरुलाई परिक्षामा पास हुन सिकाएजस्तै भएको तर्क गरिन । उनले भिजिट भिसा प्रकरणमा आफुहरुको उठाएका मुद्दा यथावत नै रहेको र आन्दोलन जारी रहेको जानकारी दिइन ।