© २०२३
काठमाडौं, ३ भदौ ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ । सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २७ रनको योगदान दिए ।
लोकेश बमले ११ बलमा विस्फोटक २५ रन बनाउँदै अन्त्यसम्म अविजित रहे। टोलीले अतिरिक्त रूपमा विपक्षीबाट ३२ रन प्राप्त गरेको थियो ।
बलिङतर्फ होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट हात पार्दा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले समान १–१ विकेट लिए ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा होबार्ट हरिकेन्स १६.१ ओभरमै ११४ रनमा अलआउट भयो । नेपालको बलिङ आक्रमणमा नन्दन यादव चम्किए, जसले ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले पनि समान १–१ विकेट लिँदै जितमा योगदान दिए ।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रनको योगदान दिए । जेन कर्टेन २० रनमा अविजित रहे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
यसअघिका तीन खेलमा लगातार हार व्यहोरेको नेपालका लागि यो जित निकै महत्त्वपूर्ण मानिएको छ । नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग, दोस्रो खेलमा शनिबार बंगलादेश ‘ए’सँग र तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ ।