Butwal Today

तीज गीत प्रतियोगिता मार्फत महिलाहरूले पोखे समस्या र वेदना

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

गुल्मी, ३ भदौ ।

रेसुङ्गा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय तीज गीत प्रतियोगितामा सोमबार महिलाहरूले पीडा, वेदना र आकाङ्क्षाका गीतहरू मार्फत वर्तमान अवस्थाको यथार्थ चित्रण प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा सहभागीहरूले गीत मार्फत विदेश पलायनले रित्तिएको गाउँ, त्यही गाउँमा वृद्ध आमाबुबाको असहाय अवस्था, सम्बन्ध विच्छेदले निम्त्याएको परिस्थिति र छुवाछूत जस्ता कुप्रथाको कथा र व्यथा व्यक्त गरेका थिए ।

उनीहरूले युवालाई स्वदेशमै रोजगारीको वातावरण मिलाउनु पर्ने, बाँझो खेतबारीलाई उर्वर र हराभरा बनाउने, कृषि पेसालाई अगाडि बढाउने जस्ता विषयवस्तुहरू गीत मार्फत समेटेका थिए ।

नगरपालिकाले पक्की सडक, खानेपानीको सुविधा, अक्सिजन कन्सनट्रेटर र डायलासिस सेवा उपलब्ध गराएकोमा महिलाहरूले खुसी व्यक्त गरे । तर, हत्या–बलात्कार, घरेलु हिंसा र वैदेशिक रोजगारीमा गएकी महिलाको मृत्यु जस्ता घटनाले अझै समाजमा त्रसितको अवस्था रहेको पीडा गीत मार्फत उजागर गरेका थिए ।

कृषि कर्म गर्ने किसानहरूको पीडालाई पनि उनीहरूले गीत मार्फत उजागर गरेका थिए । वर्षभरि दुःख गरेर लगाएको अन्नबाली बाँदर, बनेल र चराचुरुङ्गीहरूले खाइदिने र किसानहरूको खेतबारी रित्तिँदै जाने गरेको भन्दै उक्त समस्या समाधान गर्न पहल गर्न स्थानीय सरकारसँग आग्रह समेत गरेका थिए ।

हाउभाउ र हास्यव्यङ्ग्यात्मक शैलीमा गरिएका कतिपय गीत र नृत्यले अतिथिदेखि दर्शकहरूलाई पेट मिचीमिची हँसाउन बाध्य बनाएका थिए । नगरस्तरीय उक्त तीज गीत प्रतियोगितामा रेसुङ्गा नगरपालिका वडा नं. ५ प्रथम, वडा नं. ७ द्वितीय र वडा नं. ८ तृतीय बनेका थिए ।

विजयी तथा सहभागी सबै समूहहरूलाई राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, नगर प्रमुख खिल ध्वज पन्थी लगायतले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाको आयोजनामा आयोजना गरिएको नगर स्तरीय तीज गीत प्रतियोगितामा नगरपालिका भित्रका १४ वटै वडाका समूहहरूले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?