Butwal Today

ईश्वरी–दिपा लोक सेवाका प्रेरणा 

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

बुटवल, ०३ भदौ ।

‘सफलता एकै पटकमा प्राप्त हुँदैन, तर एक पटक अवश्य प्राप्त हुन्छ’ भन्ने मान्यता अहिले अर्घाखाँची, छत्रदेवका ईश्वरी प्रसाद पाण्डेले प्रमाणित गरेका छन् ।

लामो समय शिक्षण पेशमा जीवन बिताएका उनले शिक्षक सेवा आयोगसँगै लोक सेवा आयोगमा ३ वर्षमा प्राप्त गरेको सफलता सबैको लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

निरन्तरको मिहिनेतको कारण सफलताको बाटो पहिल्याउनको लागि कुनै अफ्ठेरो नभएको बताउने पाण्डेले ३ वर्षमा प्राप्त गरेको सफलता अरूको लागि उदाहरणीय समेत बनेको छ ।

अर्घाखाँची घर भई लामो समय बुटवलको तिनाउ अङ्ग्रेजी बोर्डिङ्ग स्कुल, अक्सफोर्ड माविमा समेत अध्यापन गराएका उनले प्राथमिक तहबाट सरकारी सेवा प्रवेश गरेर अद्भुत सफलता प्राप्त गरेका हुन् ।

उनले लामो समय पत्रिका वितरकको समेत काम गरेको बताउँछन् । पत्रिका वितरणसँगै होटलमा समेत काम गरेको तीतो यथार्थ उनमा छ । उनले वि.सं. २०६३ सालको वैशाखदेखि भदौ महिना सम्म पत्रिका वितरकको काम गरेका थिए ।

यस्तै वि.सं. २०६३ सालको चैत महिना सम्म होटलमा समेत काम गरे । होटेलमा काम गर्दै शिक्षण पेसा देखि प्रशासन सम्मको यात्रा अगाडि बढाएका थिए । यस दौडानमा उनी उत्कृष्ट शिक्षक पुरस्कार, नगर शिक्षा पुरस्कार  जस्ता झन्डै एक दर्जन पुरस्कार बाट पुरस्कृत समेत भएका थिए ।

अर्घाखाँची, छत्रदेव गाउँपालिका वडा नं. ७ जन्मस्थान भएका पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिकामा रहेको श्री सरस्वती मावि भुस्कात काहुलेबाट एसएलसी पश्चात घरको आर्थिक अवस्था कमजोर भएको कारण बुटवलमा साइकलमा पत्रिका बेच्ने कामदेखि होटलमा केही समय भाँडा माज्दै कक्षा ११ पढ्न सुरु गरेका थिए ।

१६ वर्ष बुटवलको एउटा बोर्डिङ स्कुलमा पढाउँदै आफूले गणित विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर पास गरी बुटवलमै झन्डै ५ वर्ष कलेज पढाउँदै बि.सं. २०७९ सालमा प्राथमिक तहबाट सरकारी सेवा प्रवेश गरेका हुन् ।

बि.सं. २०६४ देखि २०७९ सम्म बोर्डिङ तथा क्याम्पसमा शिक्षणमा उनी संलग्न रहेका थिए । यस्तै बि.सं. २०७८ मा माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण गरेपछि लोकसेवा आयोगसँगै शिक्षक सेवा आयोगको तयारीमा लागेका उनले बि.सं.२०७९ साल चैतमा प्राथमिक तृतीय श्रेणीको स्थायी शिक्षकको रूपमा गुल्मी जिल्लामा सिफारिस भएका थिए ।

यस्तै २०८० साल असोजमा माध्यमिक तृतीय श्रेणीको गणित विषयमा स्थायी शिक्षकको रूपमा झापा जिल्लामा सिफारिस भए २०८० साल चैतमा गण्डकी प्रदेश शिक्षा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण भएका उनी अन्तर्वार्ता दिन नगएको बताउँछन् ।

यस्तै २०८१ साल वैशाखमा गण्डकी प्रदेश स्थानीय प्रशासन अन्तर्गत शिक्षा अधिकृत पदमा सिफारिस, लमजुङ जिल्ला, बेसिसहर नगरपालिकामा शिक्षा शाखा प्रमुखको रूपमा कार्यरत रहेका थिए । उनै पाण्डे अहिले नेपाल शिक्षा, शिक्षा प्रशासन, विद्यालय निरीक्षकको रूपमा ४ नम्बरमा सिफारिस भएका छन् ।

लोकसेवा आयोगको परीक्षाको विभिन्न निकायमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका उनले एक पटक तयारी गरेपछि जुनसुकै निकायमा पनि परीक्षा उत्तीर्ण गर्न अफ्ठेरो नभएको बताउँछन् ।

उनी भन्छन्–‘मिहिनेत र धैर्यता गर्ने हो भने एक दिन सफलताको शिखरमा पुग्न सकिन्छ ।’ उनी मात्रै होइन उनकी श्रीमती दिपा पाण्डे पनि तथ्याङ्क अधिकृतको रूपमा कार्यरत रहेकी छिन् ।

उनकी श्रीमती दिपा पाण्डे पनि ३ वर्षको अन्तरमा लोक सेवा आयोगले लिएका परीक्षाहरू मध्ये अधिकृत तहमा दुई ठाउँमा, सुब्बा तहमा ५  ठाउँमा र खरिदार तहमा एक ठाउँमा गरी जम्मा आठ ओटा परीक्षामा नाम निकाल्न सफल भएकी थिइन ।

अहिले उनी लोक सेवा आयोग ले लिएको तथ्याङ्क अधिकृत सातौँ तहको परीक्षामा नाम निकाली तथ्याङ्क अधिकृतको रूपमा कार्यरत रहेकी छिन् ।  दिपा पाण्डे तथ्याङ्क अधिकृत सातौँ  तह मिति २०८०/३/२६ सिफारिस, सङ्घीय तथ्याङ्क अधिकृत २०७८ चैत वैकल्पिक सिफारिस भएकी थिइन् ।

यस्तै तथ्याङ्क सहायक (सुब्बा सरह) बागमती प्रदेश २०७९ भदौमा सिफारिस, तथ्याङ्क सहायक (सुब्बा सरह) बागमती प्रदेश (स्थानीय तह) साउनमा अन्तर्वार्ता दिन  गएकी थिइनन् ।

यस्तै तथ्याङ्क सहायक (सुब्बा सरह) कर्णाली प्रदेश २०७९ भदौमा अन्तर्वार्ता दिन नगएको, मेडिकल रेकर्डर (सुब्बा सरह) कर्णाली प्रदेश २०७९ असोजमा अन्तर्वार्ता दिन नगएको, सङ्घीय गणक (खरीदार सरह) भदौ २०७९ मा अन्तर्वार्ता दिन नगएको, नेपाल आर्थिक योजना तथा तथ्याङ्क रा.प. अनम प्रथम श्रेणी ( सुब्बा सरह) २०७४ मा वैकल्पिक सिफारिस भएकी थिइन ।

पाण्डे दम्पतीको यो जोडी लोकसेवा आयोग तयारी गर्नेहरूको लागि उदाहरणीय जोडीको रूपमा रहेको छ ।