Butwal Today

नेपाली सेनालाई भारतको ६ वटा लाइट स्ट्राइकिङ भेइकलसहित ५ घोडा र कुकुर उपहार

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ

दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा  ‘लाइट स्ट्राइकिङ भेइकल’  सहित विभिन्न सैन्य सामग्री उपहार दिएका छन् ।

सोमबार बिहान नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर विदेशसचिव मिश्रीले ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकारीका अनुसार, सैन्य सामग्री हस्तान्तरणको तयारी केही समयदेखि हुँदै आएको थियो ।

विदेशसचिवको नेपाल आगमनको अवसर पारेर उनी स्वयं जंगीअड्डा पुगेका थिए । उक्त अवसरमा मिश्रीले नेपाली सेनालाई प्रजनन ( ब्रिडिङ ) प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा घोडासमेत हस्तान्तरण गरेका छन् । साथै, केही स्वास्थ्य सामग्रीहरू पनि प्रदान गरिएको सैनिक स्रोतले जनाएको छ ।

सामग्री हस्तान्तरणपूर्व मिश्रीले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित र सैन्य सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ ।

भारतीय विदेशसचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार काठमाडौं आएका थिए । नेपाल आगमनपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री ओली,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

विदेशसचिव मिश्री सोमबार दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?