Butwal Today

गुल्मीका स्थायी शिक्षकहरु पनि राजीनामा दिएर लागे विदेश तर्फ

२ भाद्र २०८२, सोमबार
अ+
अ-

गुल्मी, २ भदौ  ।

गुल्मीमा स्थायी शिक्षकहरुले पनि राजीनामा दिएर विदेश तर्फ उड्ने गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा १२४ जना शिक्षकहरुले राजीनामा दिएका हुन । आर्थिक वर्ष २०७९/०८० मा प्राथामिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा प्राथामिक तहमा ४६ र निम्न माध्यमिक तहमा छ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा प्राथमिक तहमा २९ जना, निम्नमाध्यमिक तहमा दुई जना र माध्यमिक तहमा तीन जना गरी कुल ३४ जनाको राजीनामा स्वीकृत भएको हो ।

कार्यालयका प्राविधिक सहायक रामप्रसाद पन्थीका अनुसार यस अवधिमा १०८ जना शिक्षकहरु अनिवार्य अवकाश भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा ३४ जना, २०८०/०८१ मा ३६ जना र २०८१/०८२ मा ३८ जना गरी कुल १०८ जना शिक्षकहरुको अनिवार्य अवकाश भएको हो ।

पछिल्लो समयमा शिक्षण पेशामा त्यती रुचि नहुँनु र वेदैशिक रोजगारीको लहरले पनि राजीनामा दिनेहरुको सङख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताए । राजीनामा दिनेमा करिव आधाको सङख्यामा वैदेशिक रोजगार रहने गरेको उनको भनाइ छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालयहरु राजनीतिक अखडा बन्नु, शिक्षकहरुलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेशामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेशाबाट राजीनामा दिने गरेको दाबी गर्छन । यहि अवस्था कायमै रहेमा भविष्मा शिक्षण पेशामा सङकट देखा पर्न सक्ने उनको भनाइ छ ।

गणित, अँग्रेजी र विज्ञानका शिक्षक अभाव

गुल्मीमा गणित, अँग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । यहाँ गणित ,अँग्रेजी र विज्ञान शिक्षकका लागि छ पटकसम्म विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको यहाँका स्थानीय तहहरुले जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले भने यस्तो समस्या गुल्मीमा मात्रै नभइ देशभर देखा परेको दाबी गर्दै आएको छ ।