© २०२३
काठमाण्डौ, २ भदौ ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५३ रनसहित अर्धशतक बनाए । कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रनको योगदान दिए। मेलबर्नका बलरहरू डग वारेन र अस्टिन एन्लेजाकले समान दुई–दुई विकेट लिए। आर्यन शर्मा र क्रिस होवेले समान एक विकेट लिए ।
त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाउर एक सय ७५ रन बनायो । मेलबर्नका ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।
यो हारसँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो खेलमा पराजित भएको छ। दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले तथा पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
११ टोली सहभागी यस शृङ्खलाको लिग चरणमा प्रत्येक टोलीले छ खेल खेल्नेछ। नेपालले अबको खेलहरूमा भोलि होबर्ट हुरिकेन्ससँग, पर्सि ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।