© २०२३
बुटवल–
बुटवल पहाडी क्षेत्रमा मनाइने रोपाई जात्राका सबै विविधतालाई समेटेर प्रदर्शन गरिएको छ । अर्घाखाँची–रुपन्देही सम्पर्क मन्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा शनिबार वृहत रोपाई जात्रा आयोजना गरिएको हो ।
देवीनगरको चौपारीमा यसको आयोजना गरिएको थियो । दिउँसो श्रीकृष्ण जन्माष्ठमीको रथयात्रा, रोपाईजात्रा तथा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । मञ्चका अध्यक्ष दिनेश कुँवरले परम्परागत रुपमा मनाइने रोपाई जात्राका विभिन्न झलकहरुबारे नयाँ पुस्तालाई जानकारी दिनका लागि यसखालको कार्यक्रम गरिएको जनाए ।
उनले यो कार्यक्रममा यसका विविध पक्षलाई समेटिएकाले अवलोकन गरेर नयाँ पिँढीलाई पनि यसबारे जानकारी दिइएको जनाए । परम्परागत सांस्कृतिक संरक्षणमा सबैको साथ जरुरी भएको बताउँदै उनले आफ्नो अभियानमा साथ दिन अनुरोध गरेका छन् । सहआयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले देवीनगरमा सरायँलाई व्यवस्थित बनाएको र अब यसलाई पनि यसैगरी अघि बढाउन चाहेको बताए । रोपाई जात्रामा सुरुवा कटालेले हाक हालेर यसबारे जानकारी दिने, त्यसपछि उल्टो हलोले जुवामा नारिएर जोत्ने र सँगै बाउसेहरुले सम्माउने अनि खोक लगाएर सम्माएका थिए ।
सँगै रथयात्रा, र भजनकिर्तनको टोली आफ््नो भेषमा गाउँदै जाने, त्यसपछि वालीको भाकामा रोपाहारहरुले हातमा धानको बीउ लिएर नाच्दै रोपेका थिए । यसको साथमा शिवजीको भेषमा खरानी छर्केर एकजना हिंड्ने, रोपाहारअघि सिस्नो बोकेर बाटो खाली गराउँदै हिंडने, अनि बाँदरसहित विभिन्न खप्पर लगाएकाहरु नाच्दै, वरिपरीका सहभागीलाई जिस्काउदै हिंडने, लाउरेलाउरेनीको अभिनयमा दुई जनाले रमाइलो देखाउने, सँगै घोडा नाच पनि विशेष प्रकृतिले सजाएर नचाइएको मञ्चका पूर्वअध्यक्ष तथा सांस्कृतिक क्षेत्रमा कलम चलाउँदै आएका रामप्रसाद आचार्यले जानकारी दिए ।
यो कार्यक्रममा भगवती भजन मण्डलीको विशेष भजन, नवदुर्गा मन्दिरको विशेष रथयात्रा, सान्देली महिला समूह, फुल्लेल महिला समूह, मोतीपुर महिला समूह, क्षेत्री समाज, नेवा समाज तथा विभिन्न टोल समूहले रोपाईजात्रामा प्रर्दशन गरेका थिए । यो कार्यक्रममा करिब १ सय जनाभन्दा बढी प्रत्यक्षरुपमा कलाकार सहभागी भएको र बुटवलमा यस्तो ऐतिहासिक प्रदर्शन नमुना भएको कार्यक्रम संयोजक नमराज सुवेदीले जनाए ।
कार्यक्रमलाई व्यवस्थित बनाउन सबै क्षेत्रमा अनुभव भएका कलाकारहरुलाई सहभागी बनाएर परम्परागत कार्यक्रमलाई संरक्षण गरिएको कलाकार संयोजक रामबहादुर सुनारले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवद्र्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताए ।
आचार्यले मौलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याए । ’हाम्रा मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,झ उनले भने–’युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।’
हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उनले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिए ।’ चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हो उनले भने–’मौलिक कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।’ दोस्रो चरणको कार्यक्रममा सहभागी भएका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले परम्परागत कला र संस्कृतिको संरक्षणका लागि धन्यवाद दिएका थिए ।