Butwal Today

बागमती प्रदेश सरकारमा पाँच नयाँ मन्त्रीले सपथ लिए

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

 हेटौंडा, ३० साउन

बागमती प्रदेश सरकारका पाँच नयाँ मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली कांग्रेसका तर्फबाट मन्त्रीमा नियुक्त प्रभात तामाङ, कञ्चनचन्द्र बादे,  सुरेश श्रेष्ठ,  अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए। मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी समेत पाएका छन् । कञ्चनचन्द्र बादेले सामाजिक विकास मन्त्रालय,  प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, अर्मिला केसी नेपालले युवा तथा खेलकुद मन्त्रालय,  सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय र बिनु रायमाझीले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री बानियाँले साउन २० गते आफूसहित आठ जना मन्त्री नियुक्त गरी सरकार गठनको सुरुवात गरेका थिए ।  त्यस क्रममा कांग्रेसबाटै कृष्ण तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने शिवराज अधिकारी विना विभागीय मन्त्रीका रूपमा नियुक्त भएका थिए । पछिल्लो भागबण्डा अनुसार अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय दिइएको छ ।

त्यसैगरी, साउन २० कै दिन नेकपा एमालेको तर्फबाट ललितपुरका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास,  रसुवाका भरत केसीलाई वन तथा वातावरण,  काठमाडौंकै जयरथ थापालाई श्रम,  रोजगार तथा यातायात तथा बिन्दु श्रेष्ठलाई उद्योग,  वाणिज्य,  भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मुख्यमन्त्री बानियाँले दोस्रो चरणमा थप पाँच जना कांग्रेसका मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई १४ सदस्यीय बनाएका छन् । यो नियुक्तिसँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?