© २०२३
गुल्मी, २८ साउन ।
गुल्मी दरबार गाउँपालिकाले तीन दिनसम्म रुपन्देहीमा सञ्चालन गरेको शिविरबाट २७४ जनाले सेवा लिएका छन् ।पालिकाभित्रका नागरिकहरू रुपन्देही आसपास र बुटवल सहरमा बढी बसोबास गर्दै आएकाले उनीहरूलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविरको माध्यमबाट सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार गुल्मी दरबार स्थायी घर भई रुपन्देही आसपासमा बस्दै आएका वृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नका लागि गुल्मीदरबार जान समस्या हुने भएकाले तीन दिनको शिविरको आयोजना गरी सेवा प्रवाह गरेको बताए ।
साउन २५ गतेदेखि २७ गतेसम्म २७४ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण भएको उनले बताए । पालिकाभित्रका नागरिकहरूको सेवाका लागि नै आफूहरू निर्वाचित भएको बताउँदै स्थानीय सरकारको जनताले अनुभूति हुने गरी आफूहरूले काम गर्ने उनको भनाइ छ ।
रुपन्देहीबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएकोमा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् ।