Butwal Today

यू–२० महिला एसियन कप छनोट: साउदी अरेबियामाथि नेपालको संघर्षपूर्ण जित

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, २३ साउन ।

भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले हराउँदै महत्वपूर्ण जित दर्ता गरेको छ। थिम्पुको चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले निर्णायक गोल खेलको अन्तिम समयमा मात्र गर्न सफल भयो ।

खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले मिना देउवाको पासमा उत्कृष्ट ट्याप–इन गोल गर्दै नेपाललाई तीन अंक दिलाइन् । खेलभर दुबै टिमले अवसर सिर्जना गरे पनि फिनिशिङमा कमजोरी देखिएको थियो। साउदी अरेबियाले पनि केही राम्रा अवसरहरू खेर फालेको थियो । त्यस्तै, नेपालका लागि पहिलो हाफको ३७औं मिनेटमा पाएको पेनाल्टी मिना देउवाले बारमा हानेपछि अग्रता लिने अवसर गुमेको थियो।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो। साउदी अरेबियाले भने उत्तर कोरियासँग पहिलो खेलमा १५–० को ठूलो हार बेहोरेको थियो।

नेपालको समूहमा बलियो टिम उत्तर कोरिया पनि रहेको छ, जससँगको खेल आइतबार हुनेछ। प्रतियोगितामा हरेक समूहको विजेता तथा तीन उत्कृष्ट उपविजेता टिमहरू यू–२० महिला एसियन कपका लागि छनोट हुने प्रावधान छ। पहिलो खेल बराबरीमा रोकिएपछि समूह विजेता बन्ने नेपालको सम्भावनामा केही धक्का पुगेको छ, तर उपविजेता भएर छनोट हुने आशा भने अझै बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?