© 2026
काठमाडौँ, २० साउन ।
अस्ट्रेलियामा आगामी महिनामा आयोजना हुने टप एण्ड टी–२० शृङ्खलामा सहभागी हुन बङ्गलादेश ‘ए’ क्रिकेट टोलीको घोषणा गरिएको छ।
बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। नुरुल हसन सोहनको कप्तानीमा रहेको यस टोलीमा राष्ट्रिय टोलीमा खेलिसकेका अनुभवी खेलाडीहरू पनि छन्।
टोलीमा टेस्ट, एकदिवसीय र टी–२० गरी तीनै फर्म्याटमा बङ्गलादेशका लागि खेलिसकेका खेलाडीहरूको समावेश छ।
शृङ्खलाअन्तर्गत नेपालले बङ्गलादेश ‘ए’ सँग साउन ३१ गते प्रतिस्पर्धा गर्ने छ। नेपालले पनि सोमबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्ना खेलाडीहरूको टोली घोषणा गरिसकेको छ।
बङ्गलादेश ‘ए’ टोली यस शृङ्खलाको गत संस्करणको उपविजेता टोली हो। यद्यपि नेपाल भने पहिलो पटक टप एण्ड टी–२० शृङ्खलामा सहभागी हुन लागेको हो। एनटीको आयोजनामा हुने यो शृङ्खलामा कुल ११ वटा टोलीले भाग लिनेछन्।