Butwal Today

पाल्पा अस्पतालमा शल्यक्रिया सेवा ठप्प, बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता

२० श्रावण २०८२, मंगलवार
अ+
अ-

पाल्पा ।

पाल्पाको सदरमुकाम तानसेनस्थित सरकारी अस्पताल सय वर्ष पुरानो भए पनि सेवा र पूर्वाधारका हिसाबले अझै पनि पछि परेको छ। जिल्लाकै प्रमुख स्वास्थ्य संस्था मानिने यो अस्पतालमा हातखुट्टाका सामान्य शल्यक्रिया मात्र होइन, प्रसूति सेवा समेत उपलब्ध छैन। बिरामीहरूलाई लुम्बिनी मेडिकल कलेज वा पाल्पा मिसन अस्पतालमा रिफर गर्नु परिरहेको छ।

नागरिक अगुवा पुष्करराज रेग्मीका अनुसार, स्थानीयदेखि संघीय सरकारसम्मका जनप्रतिनिधि र राजनीतिक नेतृत्वले अस्पताललाई निरन्तर उपेक्षा गरेकाले सेवा प्रवाह सुधार हुन सकेको छैन। “गुणस्तरीय सेवा दिनु सरकारी अस्पतालको दायित्व हो। तर, यहाँ बौद्धिक र प्राज्ञिक वर्ग लुम्बिनी मेडिकल कलेजतर्फ केन्द्रित भएपछि पाल्पा अस्पतालको अवस्था झनै ओझेलमा परेको छ,” उनले बताए।

सडक पेटीको प्लाष्टिक ओढेर उपचार

स्थानीय शिवचन्द्र खनाल भन्छन्, “लुम्बिनी प्रदेश सरकार अन्तर्गतको यस्तो प्रमुख अस्पतालमा सामान्य शल्यक्रिया नहुनु दुःखद मात्र होइन, लाजमर्दो विषय हो।” उनका अनुसार, अस्पतालको अवस्था यस्तो छ कि वर्षा भए उपचार कक्षमा प्लाष्टिक ओढेर बिरामीको उपचार गर्नुपर्ने अवस्था आउँछ।

एकजना चिकित्सकले नाम नखुलाउने शर्तमा बताएअनुसार, “यो अस्पताल शताब्दी पुरानो जिर्ण संरचनामै सीमित छ। पूर्वाधारको अत्यधिक कमीले गर्दा बिरामीहरूलाई उपयुक्त सेवा दिन सकिएको छैन।”

शल्यक्रिया सेवा संचालन गर्न अझै समय लाग्ने

अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार, “यहाँ जटिल मात्र होइन, मध्यम प्रकृतिका शल्यक्रिया समेत गर्न सकिँदैन। भौतिक संरचनाको अभावले गर्दा बिरामीलाई रिफर गर्नु बाध्यता बनेको छ।” आकस्मिक कक्ष समेत नहुँदा सम्भावित दुर्घटनामा गम्भीर समस्या हुने उनको गुनासो छ।

आकस्मिक कक्ष निर्माणमा केही प्रगति

पूर्व व्यवस्थापन समिति अध्यक्ष अजयमान कर्माचार्यका अनुसार, “प्रदेशका स्वास्थ्य मन्त्री यसै जिल्लाका भएको हुँदा पटक–पटक संवाद भएको छ। संघीय सरकारसँगको समन्वयमा आकस्मिक कक्षको भवन निर्माणका लागि ६ करोड रुपैयाँ बजेट स्वीकृत भइसकेको छ।”

उनले थपे, “अघिल्लो आर्थिक वर्षमा शल्यक्रिया भवन त बनाइएको हो तर त्यो ‘स्टोर मोडेल’को भएकाले प्राविधिक रूपमा उपयुक्त भएन। नयाँ शल्यक्रिया कक्ष बनाउन करिब २० लाख रुपैयाँ लाग्नेछ। तत्काल सम्भव छैन, तर तयारी भइरहेको छ।”

डा. पौडेलका अनुसार, यही असोज महिनाबाट शल्यक्रिया सेवा सुरु गर्ने लक्ष्यसहित समन्वय भइरहेको छ। शल्यक्रिया पूर्वाधार तयार भएपछि आवश्यक नर्सिङ दरबन्दी पनि थप गरिने छ।

स्थानिय सरकारबाट समन्वयको आश्वासन

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पूर्वतर्फको समन्वय अभाव स्वीकार गर्दै भने, “अब समन्वय गरेर स्थलगत अध्ययन पश्चात नगर सरकारको क्षमताअनुसार पूर्ण सहयोग गर्नेछौं।”

पाल्पा अस्पतालको सेवा विस्तारका लागि सरकारका सबै तहको प्रभावकारी समन्वय र इच्छा शक्ति आवश्यक देखिन्छ। शताब्दी पुरानो यो संस्थालाई व्यवहारिक रूपमा सेवा केन्द्र बनाउने चुनौती अझै पनि बाँकी नै छ।