Butwal Today

दुर्गा प्रसाईलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो। उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।

तीनकुने घटनाका अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०-५० हजार रूपैयाँका दरले धरौटी माग गरिएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालखबरसँग बताइन्।

उनका अनुसार, डण्डपाणि रेग्मीसँग १० हजार रूपैयाँ धरौटी माग भएको छ। जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो।

उनीहरू हाल डिल्ली बजार कारागारमा छन्। गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।

त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो।

यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि  जिल्ला अदालतले भनेको थियो। आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो।