© २०२३
बुटवल, १८ साउन ।
नेपालका रबिन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ ब्यान्टमवेट च्याम्पियनसिप जित्दै नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय एमएमए उपाधि दिलाएका छन् । ‘बझाङको टाइगर’ उपनामले चिनिएका रबिन्द्रले भारतको ग्रेटर नोएडामा सम्पन्न मुख्य इभेन्टमा भारतका चर्चित फाइटर चुंगरेङ कोरेनलाई तेस्रो राउण्डको ५४ सेकेण्डमा टिकेओ मार्फत पराजित गर्दै उपाधि जितेका हुन् ।
यो जितसँगै ढाँट एमएफएन च्याम्पियनसिप बेल्ट बिजेतामात्र नभई आफूलाई दक्षिणपूर्वी एसियाका उत्कृष्ट फाइटरहरूमध्ये एकका रूपमा स्थापित गर्न सफल भएका छन । पहिलो राउण्डदेखि नै विपक्षीलाई दबाबमा राख्दै आक्रामक प्रदर्शन गरेका ढाँटले अन्ततः निर्णायक प्रहारमार्फत विजयी बने ।
यो उपाधिलाई नेपाली एमएमएको लागि ऐतिहासिक कोसेढुङ्गाको रूपमा हेरिएको छ । नेपालले पहिलो पटक एमएफएन स्तरको च्याम्पियन उत्पादन गरेकोमा सम्पूर्ण खेलप्रेमी वर्ग र खेलकुद क्षेत्रबाट प्रशंसा प्राप्त भएको छ । रबिन्द्रले नेपाललाई पहिलो उपाधि दिलाउन सफल भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालबाट बधाई समेत दिएका छन ।