Butwal Today

आईसीसी वरीयता: दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरमा फेरि दोस्रो स्थानमा

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १४ साउन।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा सार्वजनिक गरिएको टी–२० अलराउन्डर वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन्।

आईसीसीको पछिल्लो वरीयतामा ऐरी एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका हुन्। यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान तल झर्दै नवौं स्थानमा झरेपछि दीपेन्द्रले दोस्रो स्थान ओगटेका हुन्। अहिले भारतका हार्दिक पान्ड्या पहिलो र अफगानिस्तानका मोहम्मद नवी तेस्रो स्थानमा छन्।

अन्य नेपाली खेलाडीहरूमध्ये कुशल भुर्तेल ३४औं, गुल्सन झा ५८औं, रोहित पौडेल ६८औं, कुशल मल्ल ६९औं र करण केसी ८७औं स्थानमा रहेका छन्।

ब्याटिङ वरीयता:

टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ६३औं स्थानमा पुगेका छन्। यस्तै, रोहित पौडेल ६७औं, आसिफ शेख ७९औं र कुशल भुर्तेल ८५औं स्थानमा छन्। यस वरीयताको शीर्ष तीन स्थानमा भारतका अभिषेक शर्मा, अस्ट्रेलियाका ट्राभिस हेड र भारतकै तिलक वर्मा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

बलिङ वरीयता

टी–२० बलिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी पाँच स्थान तल झर्दै ८२औं स्थानमा पुगेका छन्। ललित राजवंशी ५६औं र सन्दीप लामिछाने ७६औं स्थानमा छन्। यस वरीयतामा न्युजिल्यान्डका ज्याकोब डुफी पहिलो, इङ्ग्ल्यान्डका आदिल रशिद दोस्रो र भारतका वरुण चक्रवर्ती तेस्रो स्थानमा रहेका छन्।