Butwal Today

शेयर बजारमा वृद्धि, नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा

१३ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १३ साउन ।

आज शेयर बजारमा वृद्धि भएको छ। नेप्से परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३ हजार २ दशमलव ०७ विन्दुमा पुगेको छ। यो विगत करिब चार वर्षयताकै सबैभन्दा उच्च स्तर हो।

अघिल्लो पटक नेप्से २०७८ साल भदौ १३ गते ३ हजार ४५ विन्दुमा  पुगेको थियो भने त्यसै वर्ष भदौ २ गते नेप्से ३ हजार १ सय ९८ को विन्दुमा पुगेर नयाँ कीर्तिमान बनाएको थियो।

आज विकास बैंक, फाइनान्स र व्यापार समूह बाहेक अन्य सबै समूहका शेयरमा वृद्धि देखिएको छ। अन्य समूहका शेयर २ दशमलव ५८ प्रतिशतले बढेका छन्।

विशेष गरी मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नदीप लघुवित्त कम्पनीका शेयर १० प्रतिशतले वृद्धि भएका छन्। तर, बजारमा उच्च अंकले वृद्धि भए पनि समता घरेलु लघुवित्त कम्पनीको शेयर ८।५ प्रतिशतभन्दा बढीले घटेको छ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२१ कम्पनीका करिब ४ करोड १८ लाख कित्ता शेयर १८ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएका छन्।

यससँगै बजार पूँजीकरण, अर्थात लगानीकर्ताको सम्पत्ति, अहिलेसम्मकै उच्च स्तरमा पुगेर ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।