Butwal Today

३ वर्ष बाँझिएको जमिनमा १८० मुरी धान फलाउने लक्ष्य

१२ श्रावण २०८२, सोमबार
अ+
अ-
  • ५ वर्षका लागि जमिन भाडामा लिई ३ वर्षदेखि बाँझो जमिनमा खेती गर्दै ।

  • ४८ घण्टा ट्याक्टर जोताइ, रोपाइँमा करिब २ लाख खर्च ।

  • अर्घाखाँचीमा ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती, तर पानीको ढिलाइले उत्पादनमा असर ।

 

अर्घाखाँची, १२ साउन । 

हाम्जा निर्माण सेवाका सञ्चालक नजिर महमद मियाँ ठेकेदारको काम सँगै कृषि पेसामा सक्रिय छन् । अर्घाखाँचीका अधिकांश ठाउँमा पुगेर पूर्वाधार निर्माणमा काम गरेका मियाँ कृषि र पशुपालनमा लागेका छन् ।

पूर्वाधार निर्माणमा छोरा सवाल अलिलाई जिम्मेवारी दिँदै उनी पाणिनी गाउँपालिका स्थित दुर्गा फाँट क्षेत्रमा बाँझो रहेको ६२ रोपनी क्षेत्रफलमा धान रोपाइँ गरे ।

‘५ वर्षका लागि जग्गा भाडामा लिएर रोपाई गरेको छु, हाम्जा भन्छन्–‘३ वर्षदेखि बाझो रहेका जग्गामा रोपाई गरियो ।’ सिस्नेखोलामा १४ रोपनी, सेराबेसीमा १८ रोपनी, मौलेबेसीमा ३० रोपनी गरी ६२ रोपनीमा धान रोपाई गरियो, ‘१८० मुरी धान उत्पादन गर्ने लक्ष्य छ, हाम्जाले भन्छन् ७५ जना कामदार लगायौँ ।’

बर्खामा धान रोपाइँ गरियो, हिउँदमा तोरी र गहुँ खेती गर्ने योजना रहेको छ, हाम्जा भन्छन् । प्रविधि मैत्री समय भएकाले धान रोपाई गर्दा ट्याक्टरले मात्रै करिब ४८ घण्टा जोतेको बताउँदै बाँझो रहेका जग्गामा धान रोपाई गर्दा २ लाख खर्च लागेको मियाँले बताए ।

मियाँले घरमै २० बाख्रा पालन पनि गरेका छन् । समावेशी कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका मियाँ पछिल्लो समय कृषि र पशुपालनमा सक्रिय छन् ।

९४ प्रतिशत रोपाई अर्घाखाँचीमा सम्पन्न
साउन १० गतेसम्ममा ९४ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । यस वर्ष समयमा पानी नपरेकाले र कृषकले मल समयमा नपाएकाले धान उत्पादनमा कमी हुने अनुमान गरिएको छ ।

जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ ।
यस वर्ष समयमा पानी परेको छैन, टारी खेतहरूमा रोपाई बाँकी छ, ‘धानको फूल फुल्ने वेलामा पनि पानी प¥यो भने राम्रो उत्पादन हुन्छ, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अधिकृत टिकाराम न्यौपानेले भने ।’

जिल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपैयाँको धान उत्पादन हुने गरेको सरकारी निकायहरूको तथ्याङ्क छ ।

नेपालको प्रमुख बालीको रूपमा रहेको धान उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको न्यौपाने बताउँछन् ।

जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोपिने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेली, यु एस ३१२, लगायतका धानहरू समेत लगाइँदै आएको छ ।

ट्याक्टरबाटै धान रोप्ने आधुनिक प्रविधि आए पनि पहाडमा साना खेतहरूमा मान्छेले नै रोप्दै आएका छन् । जिल्लामा ६० प्रतिशत गोरुमार्फत परम्परागत रूपमै धान खेती गरिँदै आएको छन् ।

४० प्रतिशतले भने ट्याक्टरलगायतको आधुनिक प्रविधिबाट धान खेती गर्दै आएका छन् । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको तर भौगोलिक अवस्था र गरिबीका कारणले पनि आवश्यक प्रविधिको प्रयोग हुन सकेको छैन ।