© २०२३
काठमाडौं,११ साउन।
लगातार आठ कारोबार दिनसम्म उकालो लागिरहेको सेयर बजार आइतबार ओरालो लागेको छ। बजारको परिसूचक नेप्से १८.४४ अंकले घट्दै २९६४ बिन्दुमा झरेको हो।
दिनको सुरुवातमा बढेको बजार अपरान्ह १२:५० बजे ३ हजार १२ अंकसम्म पुगे पनि त्यसपछि तीव्र बिक्री चापका कारण बजारले उल्टो गति लिएको देखियो।
नेप्सेले ३ हजार अंकलाई प्रतिरोध बिन्दुका रूपमा सामना गरिरहेको देखिएको छ। उल्लेखनीय छ कि गत वर्ष साउन ३० गते बजार बन्द हुँदा नेप्से यही अंकमा थियो। चार वर्षअगाडि, २०७८ भदौ २ गते नेप्सेले ३१९८ अंकको ऐतिहासिक उचाइ छोएको थियो।
बजार घटेपनि आइतबार कारोबार रकम उल्लेखनीय रूपमा वृद्धि भएको छ। बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबार २६ अर्ब ५७ करोड रुपैयाँमा पुगेको छ।
यो कारोबार गत वर्षको भदौ २ यता कै उच्च हो। त्यसदिन २८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो, भने साउन ३० मा हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको थियो।
कारोबारमा आज पनि हाइड्रोपावर समूह अग्रस्थानमा रह्यो। यो समूहको मात्रै ११ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो, जसले कुल कारोबारमा ४३ प्रतिशत हिस्सा ओगट्यो।
विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको कारोबार पनि २ अर्ब रुपैयाँभन्दा माथि रह्यो।
आज ६३ कम्पनीको मूल्य वृद्धि भयो भने १८६ कम्पनीको मूल्य घट्यो। अधिकांश उपसमूह घटे पनि केहीले हरियो संकेत देखाए।
विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ र व्यापार समूह १.४४ प्रतिशतले उकालो लागे भने माइक्रोफाइनान्स सामान्य वृद्धि गर्दै हरियो रह्यो।
दोस्रो पाटोमा, फाइनान्स समूह सबैभन्दा बढी, १.९९ प्रतिशतले घट्यो। बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ र अन्य समूह ०.८६ प्रतिशतले घटे।
तीन कम्पनी — समता घरेलु लघुवित्त, ट्रेड टावर, र सान्भी इनर्जी — को मूल्य आज १० प्रतिशतले उक्लियो। हालै सूचीकृत ट्रेड टावरको मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भीको मूल्य ६३५.६० रुपैयाँमा उक्लिएको छ।
लुम्बिनी विकास बैंकको मूल्य ८.४७, ग्रिन भेन्चर्सको ६.२९ र सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशतले बढ्यो।
यता, नारायणी डेभलपमेन्ट बैंक ६.३४, राप्ती हाइड्रो ४.९९ र बुटवल पावर ४.११ प्रतिशतले घटेका कम्पनीमध्ये परे।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर र ग्रिन भेन्चर्स रहेका छन्। बजारको पूँजीकरण ४९ खर्ब ४६ अर्ब रुपैयाँमा पुगेको छ।