Butwal Today

 कालिकोटको पचालझरना पर्यटकीय गन्तव्यको सूचीमा

८ श्रावण २०८२, बिहीबार
अ+
अ-

कालिकोट ।

नेपालको सबभन्दा अग्लो भनिएको कालिकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्दा पचालझरना ६४ औँ स्थानमा सूचीकृत गरेको हो ।

झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

पचालझरना कालिकोटको खाँडा चक्र नगरपालिका र पलाता गाउँपालिकाको बिचमा पर्छ ।पचालझरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ ।

कर्णाली कोरिडोरको लाफागाडबाट ३ घण्टाको उकालो बाटो कच्ची सडक हुँदै पचालझरना पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुङ्गी पाइन्छन् ।

पचालझरनाकाे आसपासमा घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने स्थानीय महाजित ऐडीले बताए  । यहाँ झरना मात्र छैन महत्त्वपूर्ण वन्यजन्तु पनि रहेका छन् ।

पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिकाको उपाध्यक्ष अल्किना बमले बताए ।समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ ।

नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४ सय १५ मिटर रहेको प्राविधिक कुलप्रसाद न्यौपानेले ब बताए ।

०७३ को नयाँ संरचनामा साबिकका बदालकोटको सिकु, खयरकोट, धमाली, राम्नाकोट र नानीकोट गाविस मिलाएर यहीको झरनाको नामबाट गाउँ पालिकाको नाम पनि पचालझरना राखिएको छ ।

गाउँपालिकाले ०७५ वैशाख ३ मा झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको केन्द्रमा महोत्सव आयोजना गरेको तत्कालीन गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

पचालझरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।

भारतको रूपैडियादेखि तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुली सकेकोले मानसरोवर जाने पर्यटकलाई आकर्षित गर्न सके यस क्षेत्रका बासिन्दाको जीवनस्तर फेर्न सकिने गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताए ।

पचालझरनाकाे प्रचारप्रसार र आवश्यक पूर्वाधार अझै पुग्न सकेको छैन ।