© २०२३
बुटवल, ०४ साउन ।
पूर्णिमा राई र मिना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौँ खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको छ ।
दोस्रो खेलमा आइतबार बङ्गलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको नेपालले श्रीलङ्कासँग तेस्रो र चौथो खेलमा समान ७–० गोल अन्तरको जित निकालेको थियो । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो ।
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा नेपालको ५ खेलमा १२ अङ्क भएको छ भने बङ्गलादेशको ४ खेलमा १२ अङ्क छ । बङ्गलादेशले आजै बेलुका श्रीलङ्कासँग खेल्दै छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिन फम्र्याटमा खेलाइएको छ ।
अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अन्तिम खेलमा सोमबार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा यसअघि ७ गोलसम्म गरेको नेपालले हालसम्मकै धेरै गोल गर्दै खेल जित्यो ।
नेपालको जितमा पूर्णिमा र मिनाको ह्याट्रिकसँगै कुसुम खतिवडाले १ गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । पहिलो हाफमै ६–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो ।