© २०२३
बुटवल, ३ साउन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने भएको छ । खेलकुद पूर्वाधारको विस्तार गर्दै खेल पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो हलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
बुटवल उपमहानगरपालिकाको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो ब्याडमिन्टन हलमा आधुनिक सुविधाहरू समावेश हुनेछन् । झण्डै ७ करोड रुपैयाँ लागतमा निर्माण हुने यो परियोजना सम्पन्न भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने बाटो खुल्नेछ ।
हाल सो स्थानको भोगाधिकार प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको छ । तामनगर ब्याडमिन्टन क्लबका अध्यक्ष सुभास कर्माचार्यका अनुसार यस वर्ष संघीय सरकारले नै ३ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको बताए । स्थानीय सरकारदेखि संघसम्मको सहकार्यमा हुने यो खेलमैदानले बुटवलको खेलपर्यटनमा समेत ठुलो टेवा पुग्ने बताए । तामनगरमा आयोजित क्लबको आठौं साधारणसभा तथा चौथो अधिवेशनमा अध्यक्ष कर्माचार्यले सरकारको बजेट विनियोजनप्रति आभार प्रकट गर्दै परियोजना सफल बनाउन सबै तहको समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष डिल्लीप्रसाद शर्माले भोगाधिकार प्रक्रिया चाँडै टुंग्याइने, नापजाँचको काम भइरहेको र फिल्डबुक तयार भएसँगै भौतिक पूर्वाधार निर्माण सुरु हुने जानकारी दिए । पूर्व वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले यस परियोजनालाई वडा–वासीको गौरवको योजना भन्दै जुनसुकै चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । भूपू सैनिक कल्याणकारी क्लब तामनगरका अध्यक्ष पुरनबहादुर शाहीले यो ऐतिहासिक अवसर सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

क्लबका पूर्व अध्यक्षहरू बालकृष्ण पौडेल र मधु पुलामी मगरले बजेट फ्रिज नहोस भनेर सबैले सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । २०७२ सालमा स्थापना भएको तामनगर ब्याडमिन्टन क्लबमा हाल २६ आजीवन र २४ साधारण सदस्य गरी ५० जना सदस्य छन् । क्लबका उपाध्यक्ष बुद्ध गहतराज, सचिव केशव तिवारी, कोषाध्यक्ष रामु सुवेदी, पूर्व सचिव चुरन थापा लगायतले क्लबको उद्देश्य, विगतका गतिविधि र भविष्यका योजनाबारे जानकारी गराए ।
सभाले बुटवल–१२ का अन्य पाँच वटा क्लबलाई एकीकृत गरी एउटा बृहत खेलकुद संस्था बनाउने प्रस्ताव अघि सारेको छ । यसबारे संवाद र गाभ्ने प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ । कार्यक्रममा क्लबलाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साथै, गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्लब सदस्यका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो ।
तामनगरमा बन्ने अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलले बुटवलमा खेलकुदको वातावरण मात्र हैन, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । खेलकुद पूर्वाधारको अभाव झेल्दै आएको बुटवलका लागि यो योजना गेम चेन्जर सावित हुन सक्ने संकेत देखिएको छ ।