Butwal Today

राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे

३ श्रावण २०८२, शनिबार
अ+
अ-

गुल्मी, ३ साउन ।

गुल्मीमा आर्थिक वर्ष २०८१÷८२ मा राहदानी लिनेको संख्यामा कमी आएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आर्थिक वर्षमा १० हजार ८३२ जनाले राहदानी बनाएका छन् भने पाँच करोड ६५ लाख ४३ हजार ५१० रुपियाँ राजस्व जम्मा भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा १२ हजार २७६ जनाले राहदानी लिएका थिए । अघिल्लो आर्थिक वर्षमा छ करोड ३३ लाख राजस्व जम्मा भएको थियो ।

एक वर्षका उपलब्धि र आगामी कार्ययोजना सार्वजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको गैरेको भनाई छ ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा नयाँ नागरिकता लिनेको सङ्ख्यामा पनि कमी आएको छ । गत आर्थिक वर्षमा नौ हजार ८२ जनाले नागरिकता लिएका छन् । अघिल्लो वर्ष नौ हजार ६१८ जनाले नागरिकता लिएका थिए । पछिल्लो समय नागरिकताको प्रतिलिपि लिनेको संख्यामा भने वृद्धि हुँदै आएको छ । राष्ट्रिय परिचयपत्र लिने क्रममा नागरिकतामा त्रुटि देखिने गरेकाले प्रतिलिपी लिनेको संख्यामा वृद्धि भएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?