© २०२३
दाङ ,२२ असार ।
तुलसीपुर बहु प्राविधिक शिक्षालय फार्मेसी संकायकाे आयोजनामा नेपाल फार्मेसी सङ्घ दाङका नव निर्वाचित पदाधिकारीलाई स्वागत सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख एवम् कलेज सञ्चालन समितिका अध्यक्ष टीकाराम खड्काले विज्ञताको अभावमा बिरामीहरूले औषधी सेवनमासमेत समस्या आएको बताए । उनले पालिकाले योग्य जनशक्ति उत्पादन गरेर बजारको मागलाई पूरा गर्ने बताए । नगरप्रमुख खड्काले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा पालिका गम्भीर भएको बताए ।
मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले कलेजले यस क्षेत्रमा आवश्यक पर्ने फर्माशिष्ट जनशक्ति उत्पादन गरिरहेको बताए ।
लुम्बिनी प्रदेश उपाध्यक्ष सुलभ अधिकारीले पालिकाभित्र फार्मेसीको जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए । उनले नगर फार्मेसीको अवधारणा अघि ल्याउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्ष श्यामकुमार गिरी , महासचिव दिल किरण परियार, फार्मेसी सङ्कायका सुनिता रसाइली लगायतले धारणा राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहु प्राविधिक शिक्षालय मेट्रो कलेजको फार्मेसी सङ्कायमा सातै प्रदेशका विद्यार्थीहरू अध्ययन गरिरहेको कलेज प्रशासनले जनाएको छ ।