© २०२३
बुटवल, २२ असार ।
रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब ५०० परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् । विगत ४२ वर्षदेखि बसोबास गर्दै आएका कञ्चन–५, गरगरेका बासिन्दालाई आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् ।
अर्थमन्त्री पौडेलले जेष्ठ नागरिक समेत रहेका ९८ वर्षीय भानुभक्त उपाध्यायलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।
त्यस अवसरमा बोल्दै पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए । “सरकारले सुकुम्बासी समस्या दीगो रुपमा समाधान गर्ने अठोट गरेको छ”–अर्थमन्त्री पौडेलले भने–“यसका लागि भूमि समस्या समाधान आयोगलाई प्रयाप्त बजेटको व्यवस्था गरिएको छ ।
काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने र त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने उल्लेख गरे ।
अहिलेको सरकार समस्याको आगो ताप्न बनेको नभै समाधान गर्न बनेको जिकिर गर्दै अर्थमन्त्री पौडेलले बाँकी भूमिहीन सुकुम्बासीहरु पनि लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा रहेको बताए । उनले नकारात्मक सोंचको पछाडि नलाग्न र समाजलाई नकारात्म दिशातर्फ नधेकेल्न आग्रह गर्दै भएका कामहरु नदेख्ने प्रवृत्ति पछिल्लो समय हावी हुँदै गएकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आयोगले देशव्यापी रुपमा सुकुम्बासीहरुको लगत संकलन गरिरहेको र ठाउँठाउँमा पुर्जा वितरणको कार्य पनि चलिरहेको भन्दै सुकुम्बासी समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे ।
संघीय सांसद वासुदेव घिमिरेले सुकुम्बासी समस्या दीगो रुपमा समाधान गर्ने गरी अहिलेको सरकार अगाडि बढेकाले नागरिकले साथ दिनुपर्ने बताए ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले रुपन्देहीमा कन्चन गाउँपालिकाबाट लालपुर्जा बाँड्ने कार्यको सुरुवात भएको भन्दै अव क्रमशः अन्य पालिकाहरुमा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्दै जाने बताए । छिटै नै रुपन्देहीमा सुकुम्बासी समस्या समाधान गर्ने गरी आयोगले काम गरिरहेको उनले बताए ।
त्यस अवसरमा कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापालगायतले पालिकाको समग्र वस्तुस्थितिबारे जानकारी गराएका थिए ।