© २०२३
भैरहवा, १७ असार ।
मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने उद्देश्यले मंगलबार भैरहवास्थित श्री बहुउद्देश्यीय सामुदायिक सभा हल, सिद्धार्थनगर नगरपालिका–१३ मा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही, आफन्त नेपाल र माइती नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजशास्त्र विभाग, भैरहवा बहुमुखी क्याम्पसद्वारा समुदाय केन्द्रित पहलको रूपमा सञ्चालित थियो।
कार्यक्रमको सभापतित्व विमला पोखरेलले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्की प्रसाद जोशी उपस्थित थिए । कार्यक्रममा मानव बेचबिखनको जोखिम, यसका कारण र रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
प्रमुख अतिथि जोशीले मानव बेचबिखनविरुद्ध समुदाय स्तरमा सचेतना फैलाउनु अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सभापति पोखरेलले मानव बेचबिखनको चपेटामा परेका व्यक्तिहरूलाई संरक्षण र पुनस्र्थापनाका लागि सामुदायिक सहभागिताको महत्त्वमाथि जोड दिइन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही, आफन्त नेपाल र माइती नेपालका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथामका लागि आफूहरूले गरिरहेका प्रयास र चुनौतीहरूबारे जानकारी गराए। कार्यक्रममा स्थानीय समुदाय, विद्यार्थी, सामाजिक कार्यकर्ता र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यो कार्यक्रमले मानव बेचबिखनविरुद्ध लड्न समुदायमा जागरूकता बढाउन र पीडितहरूलाई सहयोग गर्ने सन्देश प्रवाह गर्न सफल भएको आयोजकहरूले बताएका छन्।