© २०२३
कपिलवस्तु, १३ असार ।
महिला सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले खुशी हस्तकला केन्द्रको आयोजना तथा यशोधरा गाउँपालिकाको सहयोगमा एकल महिला तथा गरिब महिलाहरूलाई लक्षित गर्दै यशोधरा गाउँपालिका वडा नं. ७ मा १ महिने व्युटी पार्लर तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यशोधरा गाउँपालिकाभित्रका विभिन्न वडाबाट सहभागी भएका महिलाहरूलाई व्युटी पार्लरसँग सम्बन्धित आधारभूत सीप, सैलुन सञ्चालन प्रविधि, ग्राहक सेवा, सौन्दर्य सामग्रीको प्रयोग विधि लगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान सहित २२ वटा हेयर ड्रायर, २१ वटा हेयर आइरन मेशिन प्रदान गरिएको थियो । यस्तै प्रशिक्षकहरूको अनुभव तथा आधुनिक उपकरणको प्रयोगमार्फत तालिमलाई प्रभावकारी बनाइएको आयोजक संस्थाले जनाएको छ ।
खुशी हस्तकला केन्द्रका प्रतिनिधिले महिलाहरूको आत्मनिर्भरता तथा उद्यमशीलता विकासका लागि यस्ता सीपमूलक तालिमहरू महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा अझ विस्तारित कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी गराए ।
सहयोगी संस्था यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले महिलालाई सक्षम बनाउन पालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सहभागी महिलाहरूले तालिमले आफूहरूलाई स्वरोजगारतर्फ अगाडि बढ्न प्रेरणा मिलेको बताएका छन् ।
यस तालिममार्फत महिलाहरूले व्यावसायिक सीप मात्र नभई आत्मविश्वास समेत प्राप्त गरेका छन्, जसले उनीहरूको सामाजिक तथा आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
खुशी हस्तकला केन्द्रको आयोजनामा भएको कार्यक्रममा यशोधरा गाउँपालिकाका प्रमुख शिव दयाल तिवारी, उपप्रमुख गुन्जा देवी मौर्या, प्रमुख प्रशासकीय अधिकृत ऋषव देव खनाल, वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे लगायतको उपस्थिति रहेको थियो ।